एजेन्सी । विश्वकपको सुरुवात अगाडी रुसको विश्वकप तयारी निकै कमजोर थियो । आयोजक रुस पछिल्ला ७ खेलमा जित विहिन थियो । फिफा वरियताको कमजोर टोलीलाई लिएर देशभित्रै निकै आलोचना भएको थियो ।
जब बिश्वकप सुरु भयो, रुसको प्रर्दशनमा नाटकिय परिवर्तन आयो । उद्घाटन खेलमै उसले साउदी अरेबियालाई ५–० ले स्तब्ध बनायो । इजिप्टविरुद्धको ३–१ को जितले उसलाई नकआउट चरणमा पुर्राएको थियो । उसले पछिल्ला दुई खेलमा कठिन प्रतिद्वन्द्वी उरुग्वे र स्पेनविरुद्ध खेल्यो । मुस्किलले उसले एक मात्र गतिलो प्रहार पोस्टमा गरेको थियो । तर,टाईब्रेकरमा स्पेनलाई स्तब्ध बनाउदै उसले अन्तिम ८ को यात्रा तय गर्न सफल भयो ।
पहिलो पटक नकआउट चरणमा जित निकालेको रुसले अब सेमिफाईनल प्रवेशका लागि क्रोएसियासंग प्रतिस्पर्धा गर्दैछ । रुसका युरी झिर्कोव चोटका कारण आजको खेल गुमाउनेछन् । यस्तोमा क्रोएसियासंगको खेलअघि रुसी प्रशिक्षक स्टानिस्लाभ चर्चेसोभ शान्त तरिकाले खेलको विकास गर्नमा केन्द्रित छन् ।
‘प्रशिक्षकको रुपमा मैले टिभी नहेर्ने कोशिश गरिरहेको छु । मैले पत्रपत्रिका पढेको छैन । म मेरो जिम्मेवारीमा केन्द्रित छु । म विश्वास गर्छु त्यही कुरा खेलाडीमा लागु हुन्छ,’ उनले भने, ‘म विचलित नहुने कोशिश गरिरहेको छु । यदी पत्रिका भेटिएको खण्डमा म हेडलाईन पढ्छु । आलोचना राम्रो हुन सक्छ । तर मेरो मान्यता छ कि, आखाँ र कान खुल्ला राख्न आवश्यक छ ।’
यता, क्रोएसियाले पनि टाईब्रेकरमा डेनमार्कलाई हराउदै अन्तिम ८ मा स्थान बनाएको थियो । सन् १९९८ को विश्वकपमा तेस्रो स्थान हात पारेको गर्विलो इतिहासले क्रोएसियालाई रोमाञ्चित तुल्याउन सक्नेछ ।
क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालीचले भनेका छन्, 'मलाई याद छ, क्रोएसिया तेस्रो हुँदा म २० बर्षको थिए । मैले समर्थकको रुपमा सुरुवाती तीन हेरेको थिए । त्यसपछि क्लबमा फर्किए र टिमसंग तयारीमा लागे । म सधै क्रोएसिया टिममा हुनेछु र सबै खेलमा समर्थक रहने छु ।'
तर, गत बर्षबाट क्रोएसियाको टिम सम्हालेका प्रशिक्षक डालीचले रुससंगको खेल कठिन हुने बताए । प्रशिक्षक डालीचले भने, 'यो खेल निकै फरक खेल हुनेछ र दुवैलाई उत्तिकै अवसर छ । यदी तिमी स्पेनलाई हराउछौं भने अन्तिम आठमा तिमी हकदार छौं । हाम्रो लागी यो खेल सहज छैन । किनकी सयौं घरेलु दर्शकअघि खेल्न गाह्रो हुनेछ तर मेरो खेलाडीले हरेक साता राम्रो खेलिरहेका छन् '
डेनमार्कविरुद्धको खेलमा चोट बोकेका इवान स्ट्रिनिक आजको खेलमा उपलब्ध हुने आश क्रोएसियालाई छ । काँधमा चोट बोकका मेटो कोवासिक समेत मैदान फर्कन सक्नेछन् ।
रुस र क्रोएसिया मात्र ३ पटक आमनेसामने भएका छन् । जसमा दुई खेल बराबरीमा सकिएको छ भने सन् २०१५ मा भएको एक मैत्रिपुर्ण खेलमा क्रोएसियाले रुसलाई ३–१ ले हराएको छ ।