एजेन्सी । रुस विश्वकपको दोस्रो क्वाटरफाइनलमा आज राति ब्राजिल र बेल्जियमले प्रतिस्पर्धा गर्दै छन् । दुई हेबिवेट टिमबीचको खेल नेपाली समय अनुसार राति ११ :४५ मा सुरु हुनेछ ।
कजान एरिनामा हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यमा रहने छ । र, दुवैको लक्ष्य सेमिफाइनलमा पुग्नु हुनेछ । ब्राजिलले मेक्सिकोलाई हराउदै क्वाटरफाइनलमा स्थान बनाएको हो भने बेल्जियमले जापानलाई हराएको थियो । यस्तोमा दुवै टोली आजको खेलमा उच्च मनोबलका साथ मैदान उत्रने छन् ।
आज खेलमा जित निकाल्न दुवै टोली आफ्नो सम्पूर्ण अस्त्र प्रयोग गर्नेछ । र, दुवै टोलीले आफ्ना केहि खेलाडीलाई मुख्य हतियार बनाउने छ । जसले खेललाई आफ्नो पक्षमा बनाउन सहयोग गर्छ । आज ब्राजिलले नेयमारसंग आशा गरेको छ भने बेल्जियम रोमेलु लुकाकुमा निर्भर रहने छ ।
प्लेयर्स टु वाच :
नेयमार (ब्राजिल)
विश्व फुटबलका महंगा खेलाडी हुन्, नेयमार । र, रुस विश्वकप भर ब्राजिलले नेयमारलाई मुख्य हतियार बनाउने छन् ।
युवा खेलाडीको बाहुल्यता रहेको ब्राजिलको मुख्य हतियार अग्रपंक्ति हो । उक्त अग्रपंक्तिको नेतृत्व उनै नेयमारले गर्ने छन् । ब्राजिलको टोलीबाट ८९ खेल खेलिसकेका नेयमारले ५७ गोल गरिसकेका छन् ।
रुस विश्वकपको सुरुवाती खेलमा नेयमारले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । तर, नेयमारले लगातार आफुलाई सुधार गर्दै लगेका छन् । उनले ब्राजिलको लागि २ गोल समेत गरिसकेका छन् । आजको खेलमा नेयमार चम्किए बेल्जियमलाई कठिन हुने पक्का जस्तै छ ।
स्किलफुल २६ बर्षिय यी स्ट्राइकर ब्यवसायीक फुटबल जर्मन क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेल्ने गर्छन । यसै सिजन पेरिस पुगेका नेयमारले २० खेलमा १९ गोल गरेका थिए । च्याम्पियन्स लिगको ७ खेलमा नेयमारले ६ गोल गरेका थिए । तर, सिजन नसकिदै खुट्टाको चोटको कारण करिब ५ महिना मैदान बाहिर रहेका नेयमार विश्वकपबाटै खेलमा फर्किएका हुन् ।
रोमेलु लुकाकु (बेल्जियम)
रुस विश्वकपमा रोमेलु लुकाकु बेल्जियमका मुख्य स्ट्राइकर हुन् । लुकाकुले आफुलाई प्रमाणित समेत गरिसकेका छन् । समूह चरणको खेलमा चार गोल गरिसकेका लुकाकु ब्राजिलविरुद्ध पनि बेल्जियमका मुख्य हतियार हुने छन् ।
जारी विश्वकपमा लुकाकु गोल्डेन बुट दाबेदार समेत हुन् । गोल्डेन बुटका लागि लुकाकु दोस्रो स्थानमा रहेका छन् । निकै बलिया ज्यान भएका लुकाकु बिश्व स्तरीय डिफेन्सलाई सहजै हल्लाउन सक्ने खुबी भएका खेलाडी पनि हुन् ।
इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडका स्ट्राइकर लुकाकु निकै लयमा समेत छन् । २५ बर्षिय लुकाकुले सिजन प्रिमियर लिगको ३४ खेलमा १६ गोल गरेका छन् । त्यस्तै च्याम्पियन्स लिगको ८ खेलमा ५ गोल गर्न सफल भएका छन् ।
विश्वकप छनोटको ८ खेलमै ११ गोल गरेका लुकाकु गोल गर्न माहिर खेलाडी मानिन्छन् । लामो लामो पास खेल्न, मैदानमा पुरा समय आफ्नो लगाब लगाएर खेल्ने खुबी भएका लुकाकु आज ब्राजिलको लागि घातक हुन सक्छन् ।