काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल पूर्व धावक हरिबहादुर रोकायालाई स्वस्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । राखेपले शुक्रबार राष्ट्रिय खेलाडी कल्याणकारी कोषबाट रोकायालाई १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
कोषका अध्यक्ष समेत रहेका राखेपका सदस्य–सचिव केशवकुमार विष्टले शुक्रबार लोकन्थलीमा रहेका रोकायाको स्वस्थ्य अवस्था बारे जानकारी लिनुका साथै उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । सदस्य–सचिव विष्टले रोकायाको शीघ्र स्वास्थ लाभको कामना गर्दै थप सहयोगका लागि पनि के गर्न सकिन्छ त्यसमा विचार गर्ने बताए ।
जुम्ला खलङगा बजार निवासी ५४ वर्षिय रोकाया राखेप अन्तर्गत जुम्ला जिल्ला खेलकुद विकास समितिको एथलेटिक्सका स्थायी प्रशिक्षक हुन् । असार २ गते अचानक अस्वस्थ भएपछि रोकायालाई जुम्लाबाट उपचारका लागि काठमाडौंको बाँस्बारीस्थित न्युरो अस्पताल ल्याइएको थियो । चारदिन अघि डिस्चार्ज भएका रोकायाको नशामा कमजोरी भएको बताइएको छ ।
रोकाया विश्वको अग्लो भागमा हुने एभरेष्ट म्याराथनका लगातार तीनपटकका विजेता हुन् । रोकायाले ४ दक्षिण एसियाली महासंघीय खेलकुद (अहिले साग), २ एसियाली खेलकुद र २ ओलम्पिक गेम्समा नेपालको प्रतिनिधित्व गरेका छन् । रोकायाले विभिन्न अन्तर्राष्ट्रिय एथलेटिक्समा सहभागिता जनाइ २ स्वर्ण, १ रजत र ४ कांस्य जितेका छन् ।
एथलेटिक्सको ५ हजार र १० हजार मिटर दौडबाट करियर थालेका रोकायाले आफ्नो स्वास्थ्यमा धेरै सुधार आइरहेको बताए ।