एजेन्सी । रुस विश्वकपको पहिलो क्वाटरफाइनलमा आज उरुग्वे र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ । उरुग्वे र फ्रान्सबीचको खेल नेपाली समय अनुसार ७:४५ मा सुरु हुनेछ ।
नोभ्गोरोड रंगशालामा हुने खेलमा दुवै टोलीको लक्ष्य सेमिफाइनलमा पुग्नु हुनेछ । दुवै टोलीले लामो समयबाट विश्वकप जित्न सकेको छैन । यो पटक भने दुवैलाई उत्तिकै अवसर छ । दुवै टोलीको लय उत्कृष्ट छ । उरुग्वेले सन् १९३० र १९५० मा गरी दुईपटक विश्वविजेता जितेको थियो भने फ्रान्सले सन् १९९८ मा एक पटक विश्वकप जितेको थियो ।
प्रि- क्वाटरफाइनलमा फ्रान्सले लियोनल मेस्सीको टिम अर्जेन्टिना र उरुग्वेले क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगललाई हराएको थियो । जसको कारण दुवै टोली उच्च मनोबलका साथ मैदान उत्रदै छन् । तर, दुई टोली मध्ये एक टोलीले मात्र अघिल्लो चरणको यात्रा गर्ने छन् ।
दुवै टोलीले आफ्ना खेलाडीबाट उच्च प्रदर्शनको आशा राखेको छ । तर, दुवै टोलीले आफ्ना एक खेलाडीलाई विशेष हतियारको रुपमा प्रयोग गर्ने छन् । जुन खेलाडीको प्रदर्शनले आफ्नो टोलीको अघिल्लो चरणको यात्रा तय गर्न सक्नेछ ।
फ्रान्सविरुद्ध मैदान उत्रदा उरुग्वेले लुइस स्वारेजलाई आफ्नो मुख्य खेलाडी बनाउने छ । फ्रान्सले पाउल पोग्बासंग निकै भरोषा राखेको छ । आजको खेलमा यी दुई खेलाडी प्लेयर्स टु वाचमा रहेका छन् ।
प्लेयर्स टु वाच -
लुइस स्वारेज (उरुग्वे)

उरुग्वेको विश्वकप उपाधि यात्रा निरन्तर रहने हो भने आज अग्रपंक्तिका खेलाडी स्वारेजको भूमिका महत्वपूर्ण हुनेछ । समूह चरणको अघिल्ला तीन खेल र प्रि क्वाटरफाइनलमा ९० मिनेट नै खेलेका स्वारेजले २ गोल गरिरहेका छन् ।
अघिल्ला खेलमा स्वारेजले आफुलाई उत्कृष्ट रहेको प्रमाणित गरिसकेका छन् । उनी अहिले निकै उत्कृष्ट लयमा देखिएका छन् । धेरै गोल गर्न नसकेपनि उनले गोलका लागि धेरै पास उपलब्ध गराईसकेका छन् ।
क्लब फुटबलमा जमेका स्वारेज राष्ट्रिय टोलीमा समेत जमेका छन् । त्यसैले फ्रान्सविरुद्ध उरुग्वेले स्वारेजलाई मुख्य खेलाडी मानेका छन् । स्वारेजलाई भेट्रान खेलाडी एडिनसन काभानिको पनि साथ रहने छ । तर, पोर्चुगलविरुद्ध घाइते भएका काभानीलाई इन्जुरीले सताउने छ । काभानी मैदानमा फर्किएमा स्वारेजसंगको जोडी फ्रान्सलाई टाउको दुखाई बन्न सक्छ ।
स्वारेज व्यवसायीक रुपमा स्पेनिस ला लिगामा क्लब बार्सिलोनाबाट खेल्ने गर्छन् । ३१ वर्षिय बार्सिलोनाका स्ट्राइकर स्वारेजले यो सिजन ३३ खेल खेल्दै २५ गोल र गोलको लागि १२ पास उपलब्ध गराएका थिए । उनले च्याम्पियन्स लिगमा १० खेल खेल्दै १ गोल गरेका थिए ।
स्वारेजले स्पेनिस कोपा डेल रेको ५ खेलमा ५ गोल गरेका थिए । विश्वकप छनोट खेलमा १३ खेल खेलका स्वारेजले ५ गोल गरेका थिए । त्यसैले फ्रान्सका लागि स्वारेज खतरनाक सावित हुन् सक्ने छन्।
पाउल पोग्बा ( फ्रान्स)

फ्रान्सको विश्वकप यात्रामा महत्वपूर्ण खेलाडी हुन् पोग्बा । मिडफिल्डमा उत्कृष्ट खेल पस्कदै फ्रान्सलाई बलियो र मजबुद स्थितिमा ल्याउन महत्वपूर्ण भुमिका पोग्बाको रहने गर्छ ।
पोग्बाले विश्वकपमा आफुलाई प्रमाणित समेत गरिसकेका छन् । निकै परिपक्क प्ले मेकर पोग्बाकै उच्च प्रदर्शन रहदा फ्रान्सले निरन्तर बिपक्षिको पोष्ट गोल गरिरहेको छ । २५ वर्षिय पोग्बा बल नियन्त्रण गर्न र गोल गर्न उत्तिकै माहिर छन् ।
लामा बल खेल्न र लामा सट प्रहार गर्न सफल पोग्बा उरुग्वेको लागि टाउको दुखाईको बिषय बन्न सक्छ । पोग्बा आजको खेलमा चम्किए उरुग्वेलाई हराउन फ्रान्सलाई कठिन पर्ने छैन । प्रि क्वाटरफाइनलमा अर्जेन्टिनाविरुद्ध जित निकाल्दा पनि पोग्बाको भूमिका महत्वपूर्ण रहेको थियो । त्यसैले आज फ्रान्सले पोग्बालाई मुख्य खेलाडीको रुपमा मैदान पठाउने छ ।
ब्यवसायीक फुटबलको लागि इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्ने पोग्बा प्रिमियर लिगकै महँगा मिडफिल्डर हुन् । उत्कृष्ट प्लेमेकर पोग्बाले प्रिमियर लिगको यो सिजन २७ खेलमा ६ गोल गर्दै १० गोलको लागि पासको सिर्जना गरेका थिए । पोग्बाले च्याम्पियन्स लिगमा भने ५ खेल खेलेका छन् । एफए कपमा तीन खेल खेलेका पोग्बाले विश्वकप छनोटमा ७ खेल खेल्दै २ गोल गरेका थिए ।