काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले काठमाडौंको टुँडिखेललाई फुटबल मैदान बनाउन काठमाडौं महानगरपालिकासंग प्रस्ताव गरेको छ । बिहिबार महानगरका मेयर विद्यासुन्दर शाक्यसंग भेट गर्दै राजधानीका फुटबल क्लबसहित एन्फा पदाधिकारीले टुँडिखेलमा फुटबल मैदान बनाउने प्रस्ताव अघि सारेका हुन् ।
मैदान अभावको कारण राजधानी भित्रका क्लबले निकै समस्या भोग्नु परेको बताउदै एन्फाले टुँडिखेललाई फुटबल मैदान बनाउन सहयोग गरिदिन महानगरका मेयर शाक्यसंग आग्रह गरेका थिए ।
राजधानीका ए र बी डिभिजन क्लबलका प्रतिनिधिले नेपालको फुटबल इतिहास बोकेका काठमाडौंभित्रका क्लबले मैदान अभावको समस्या भोग्नु परेको बताउदै नदी र खोला छेउका खुल्ला स्थानलाई फुटबल मैदान बनाउन सहयोग गरिदिन महानगर समक्ष आग्रह गरेका हुन् ।
एन्फा महासचिव एवंम संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले राजधानभित्रका सार्वजनीक खुल्ला ठाउँलाई फुटबल मैदानमा विकास गर्न सके फुटबल संस्कृतिको विकासमा टेवा पुग्ने बताएका थिए ।
‘राजधानीका क्लबको समस्या भनेकै मैदान अभाव हो । यदी नदी किनारका खुल्ला स्थानलाई फुटबल मैदानको रुपमा विकास गर्न सकेको खण्डमा क्लबको आम्दानीको स्रोतपनि बढ्छ । टे«निङ गराउने खर्च समेत जोगिन्छ ।’ उनले भने, ‘यसबाट क्लबलाई राम्रो हुनुकासाथै स्थानीय स्तरमा खेल मैदान बन्दा स्थानीय खेलाडी उत्पादनमा सहयोग पुग्छ ।’
भेटमा महानगरका मेयर शाक्यले एन्फाको प्रस्तावप्रति आफु सकारात्मक भएको बताउदै फुटबललाई आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गरेका थिए ।
‘म आफैपनि फुटबल खेलाडी हुँ ।’ मेयर शाक्यले भने, ’फुटबल हेर्ने छुट्टै मन्त्रालय भएपनि महानगरले समेत खेलकुद ग्राम बनाउने उद्धेश्यले खुल्ला ठाँउ खोजिरहेको छ ।’
‘एन्फाले आयोजना गर्ने लिगकालागि महानगर सहयोग गर्न सधै तयार छ । खुल्ला ठाँउको पहिचान गरेर ल्याउनु होस । म स्विकृती दिन तयार छु ।’ उनले भने ।
एन्फाले काठमाडौंको टुँडिखेलमा चारवटा फुटबल मैदान बनाउन सकिने प्रस्ताव महानगर समक्ष राखेको छ । मैदानको मर्मत सम्भार र प्राविधिक बिषयमा एन्फा आफैले लगानी गर्ने छ ।
तत्काल दुईवटा फुटबल मैदान तयार गरेर सञ्चालन गर्ने र भविष्यमा चारवटा सम्म मैदान बनाउन सकिने एन्फाले जनाएको छ ।
टुँडिखेलमा फुटबल मैदान बनाउने बिषयमा नेपाली सेनाले समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको एन्फाका एक पदाधिकारीले खेलपाटीलाई बताए ।