एजेन्सी । ब्राजिलको विश्वकपको यात्रा सन् १९३० बाट सुरु भयो । त्यही समयबाट हो बेल्जियमले समेत विश्वकप खेल्न थालेको ।
करिब ९ दशकको विश्वकपको यात्रामा दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले ५ उपाधि जित्यो । उसले ७ पटक त फाईनलनै खेल्यो । तर,बेल्जियम तिर फर्कदा एकपटक सेमिफाईनल पुग्नु बाहेक उसले खासै सफलता हात पार्न सकेन । अझ भनौ, विश्वकपमा बेल्जियमले अभागी टोलीको परिचय मात्र बनायो । जत्तिकै राम्रा खेलाडी भएपनि उसले विश्वकपमा राम्रो गर्न सक्दैन, उसको प्रर्दशन राम्रो हुने गर्दैन । इतिहासले त्यही भन्छ, नतिजा त्यही बोल्छ ।
रुसी विश्वकप बेल्जियमको लक्ष्य विगतको त्यही खराब इतिहास सच्चाउनु हुनेछ । ‘स्वर्णीम पुस्ता’ले भरिएको बेल्जियमको उद्धेश्य विश्वकपको उपाधि जित्नु हो । बेल्जियमले समेत युरोपेली क्लब फुटबलमा चम्किएका स्टार खेलाडीबाट त्यही उपाधिको अपेक्षा गरेको छ । तर, उसको उपाधि यात्रा त्यत्ति सहज भने हुने छैन् । उसले क्वार्टरफाईनलमै विश्वकपको सर्वाधिक सफल टोली ब्राजिलसंग खेल्दैछ ।
बेल्जियम र ब्राजिली टोलीमा एक समानता छ । दुवै टोली स्टार खेलाडीले भरिएका छन् । दुवै टोलीमा युवा खेलाडीको बहुल्यता छ । एक हिसावले शुक्रबार रातिको भिडन्त सुपरस्टारको साँझ भनिदिए हुन्छ ।
नेयमार प्रेरित ब्राजिलमा पिलिपे कौटिन्हो, विलियन, मार्सेलो, ग्राबियल जिसस लगायतका खेलाडी छन् । यता, कप्तान इडन हजार्डको कप्तानीमा हुने रेड डेभिल्समा रोमेलु लुकाकु, केभिन डि ब्रोयन, फेलानी आदी आदी हुनेछन् ।
ब्राजिलका लागि खुसीको कुरा, डिफेन्डर मार्सेलो र फर्नाल्डिन्हो, बेल्जियमविरुद्धको खेलमा मैदान फर्कदैछन् । समूह चरणको अन्तिम खेलमा चोट बोक्दै मैदान बाहिरिएका मार्सेलोले सोही कारण नकआउट चरणको खेल गुमाएका थिए । क्यासमिरो निलम्बनमा परेपछि फर्नाल्डिन्होले मिडफिल्डको जिम्मेवारी पाउने प्रशिक्षक टिटेले स्पष्ट पारेका छन् ।
बेल्जियम प्रशिक्षक रोबर्टो मार्टिन्जले ब्राजिललाई चुनौती दिन आफुहरु तयार रहेको बताउछन् । ब्राजिलविरुद्धको बेल्जियमको टोली केही बिशेष हुने उनको भनाई छ । ‘दुवै टोलीमा उही स्तरका खेलाडी छन् । फरक यत्तिमात्र हो, हामीले अहिलेसम्म विश्वकप जित्न सकेका छैनौ ।’ उनले भने ।
दुवै टोलीको यो पाँचौ भेट हो । यसअघि १९६३ मा भएको खेल बेल्जियमले ५–१ ले जितेको थियो। त्यसपछिका तीनै भिडन्तमा ब्राजिलले सफलता हात पारेको छ ।
तस्विर : एजेन्सी