पोखरा । इन्डोनेसियामा आयोजना हुने एसियन गेम्सको लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई न्यूट्रिशियन (पोषण) सम्बन्धी जानकारी दिइएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पोखरामा बन्द प्रशिक्षणमा रहेको कराते र प्याराग्लाइडिङका खेलाडी र प्रशिक्षकलाई बिहिबार न्यूट्रिशियन (पोषण) सम्बन्धी जानकारी गराएको हो । उक्त कार्यक्रममा बन्द प्रशिक्षणमा रहेका २१ खेलाडी र प्रशिक्षण तथा स्थानिय प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।
खेलाडी र प्रशिक्षकलाई पोषण विद कृष्ण प्रसाद लम्सालले पोषण सम्बन्धि जानकारी दिएका थिए । सो अबसरमा उनले खेलमा पोषण शैलीले निकै नै प्रभाव पार्ने बताए । खेलमा पोषण शैलीले पदकको सम्भावनालाई समेत प्रभाव पार्ने हुनाले यो बास्तबिकता निति निर्माता तह सम्म बुझ्न आबश्यक रहेको बताए ।
परिषदका उप निर्देशक बाबुराम नेपालले एशियाडका लागि तयारीमा रहेका विभिन्न खेलका १ सय ८१ जनालाई पोषण सम्बन्धी जानकारी दिइएको बताए । उनले एसियन गेम्समा रहेका खेलाडीलाई यो कार्यक्रमले सामान्य सहयोग पुग्ने बताए । साउन महिना देखि सबै खेलाडी वैदेशिक प्रशिक्षणमा जाने भएकोले पनि यो जानकारी प्रभावकारी हुने उनको भनाइ छ ।
परिषदले विराटनगर, काठमाडौ, महेन्द्रनगर र पोखरामा गरि चार ठाउँमा उक्त प्रशिक्षण दिएको हो । यि चारै स्थानमा एशियाडमा जाने खेलाडीहरु बन्द प्रशिक्षणमा व्यस्त छन ।
पोखरामा कराते र प्याराग्लाइडिङका खेलाडीहरु बन्द प्रशिक्षणमा छन भने करातेको टिम बन्द प्रशिक्षणका लागि जापान जाने तयारी गर्दैछ । १८ औ एशियाली खेलकुदमा पदकको प्रमुख सम्भावना रहेको प्याराग्लाइडिङ खेलका खेलाडीलाई प्रतियोगिताको ८ देखि १० दिन अघि मात्रै जर्काता पठाउने तयारी भएको उपनिर्देशक नेपालले बताए ।