काठमाडौं । दोस्रो संस्करणको अन्नपूर्ण म्याराथन जेठको तेस्रो साता हुने भएको छ । आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले मंगलबार पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करणको म्याराथन जेठ २० गते हुने जानकारी गराएको हो ।
अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अवसरमा हुने म्याराथन अन्नपूर्ण आधार शिविरबाट सुरु भई माछापुच्छ्रे आधारशिविर,वगर, देउराली,हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ,टाढापानी हुँदै घान्द्रुक आएर सकिने छ ।
४२ सय मिटर उचाईबाट सुरु भएर १६ सय उचाईमा समापन हुने म्याराथनको विजेताले १ लाख ५ हजार पुरस्कार पाउने छन् । यस्तै दोस्रोले ७५ , तेस्रोले ५५ प्राप्त गर्ने छन् । त्यस्तै चौंथोले ११, पाँचौंले १०, छैटौंले ९, सातौंले ८, आठौंले ७, नवौंले ६ र दशौँले ५ हजार पाउने छन् ।
खेल पर्यटनको विकास र विस्तारमा टेवा पुर्राउने उदेश्यले आयोजना गर्न लागिएको म्याराथनमा १ सय बढी नेपाली र विदेशी धावकहरुले सहभागिता जनाउने प्रतियोगिता संयोजक ऋषि राम भण्डारीले जानकारी गराए ।
फ्रान्सेली दलले अन्नपुर्ण हिमालको सफल आरोहण गरेको दिन जेठ २० गते आयोजकले गत वर्षबाट प्रतियोगिता सुरु गरेको हो । सन् १९५० जुन ३ गते फ्रान्सका पर्वतारोही मोरिस हर्जोगको टोलीले अन्नपूर्णको सफल आरोहण गरेका थिए ।
अन्नपूर्ण काठमाडौं समाजको सह आयोजनामा हुने म्याराथन अघि जेठ १७ देखि २० सम्म अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी महोत्सव आयोजना गरिने आयोजकले जनाएको छ ।