एजेन्सी । रुस विश्वकप फुटबलबाट बाहिरिएपछि कोलम्बियाका खेलाडीलाई मार्ने धम्की आउन थालेको छ । विश्वकप अन्तर्गत प्रि–क्वाटरफाइनलमा इंग्ल्यान्डसंग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि कोलम्बियाका खेलाडीलाई मारीदिने धम्की आउन थालेको अन्तर्राष्ट्रिय समचार संस्थाहरुले जनाएको छ ।
गत मंगलबार स्पार्टक स्टेडियममा भएको खेलमा इंग्ल्यान्डसंग पेनाल्टी सुटआउटमा ४ – ३ ले पराजित हुँदै कोलम्बिया प्रतियोगिताबाट बाहिरिएको थियो । इंग्ल्यान्डविरुद्ध पेनाल्टीमा गोल गर्न नसकेका कोलाम्बियन दुई खेलाडीलाई ज्यान मार्ने धम्की आउन थालेको टेलिग्राफले जनाएको छ ।
पेनाल्टी सुटआउटमा कोलम्बियाका माटेउस उरीबे र कार्लोस बाक्काले गोल गर्न असफल भएका थिए । उरीबेको प्रहार क्रस बारमा लागेर फर्किएको थियो भने बाक्काको प्रहार इन्ग्लिश किपरले बचाएका थिए । उक्त पेनाल्टीपछि सामाजिक संजालमा खेलाडीलाई मार्ने धम्की दिनुका साथै राष्ट्रिय टिममा नफर्कन चेतावनी दिएको बताईएको छ ।
गत साता पनि मिडफिल्डर कार्लोस सान्चेजलाई मार्ने धम्की आएको थियो । समूह चरण अन्तर्गत जापानविरुद्ध ह्यान्ड गरेपछि रातो कार्ड खाँदै बाहिरिएका सान्चेजलाई मर्ने धम्की आएको थियो । प्रहरीले यो धम्कीबारे अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।
कोलम्बियामा खेलाडी हत्या धेरै अगाडीबाट हुँदै आएको छ । यो धम्कीले सन् १९९४ को घटना दोहोरिने सम्भावना बढेको छ । सन् १९९४ को विश्वकपपछि कोलम्बियन डिफेन्डर आन्द्रेस एस्कोबारको हत्या गरिएको थियो । अमेरिकाविरुद्ध आत्मघाती गोल गरेको १० दिनपछि एस्कोबार मारिएका थिए ।