एजेन्सी । विश्व फुटबलकै कुम्भमेला फिफा विश्वकपको २१ औं संस्करण रुसमा जारी छ । रुस विश्वकपको अन्तिम १६ खेलहरु समाप्त भईसकेको छ । र, क्वाटरफाइनलमा पुग्ने आठ टोलीको तय भईसकेको छ ।
विश्वकपको क्वाटरफाइनलमा खेलहरु शुक्रबारबाट सुरु हुँदैछ । रोमान्चक बनेको यो पटकको विश्वकपमा ठुला राष्ट्रहरु अप्रत्यासित रुपमा बाहिरिएका थिए । क्वाटरफाइनलमा कमै ठुला राष्ट्रले स्थान बनाएका छन् ।
यस्तोमा विश्वकप फुटबलको गोल्डेन बुट प्रतिस्पर्धामा पनि नयाँ खेलाडीहरुको प्रतिस्पर्धा हुने देखिएको छ । ठुला स्टार खेलाडीहरु यो प्रतिस्पर्धाबाट पछाडी धकेलिएका छन् । सर्वाधिक गोलकर्ता खेलाडीले पाउने गोल्डेन बुटमा मुख्य त् दुई खेलाडी प्रतिस्पर्धामा देखिएका छन् ।
इंग्ल्यान्डका ह्यारी केन र बेल्जियममा रोमेलु लुकाकु गोल्डेनबुटको दौडमा रहदा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् । चार गोल गरेका रोनाल्डोको टिम पोर्चुगल अन्तिम १६ बाटै बाहिरिएपछि गोल्डेन बुटमा उनको प्रतिस्पर्धा पनि सकिएको हो ।
विश्वकपको अन्तिम १६ को खेल सकिदा गोल्डेन बुटको मुख्य दाबेदार इंग्ल्यान्डका कप्तान ह्यारी केन देखिएका छन् । केनले ३ खेलमा ६ गोल गर्दै आफुलाई गोल्डेन बुट दाबेदार भएको प्रमाणित गरिसकेको छ ।
समूह चरणको पहिलो खेल ट्युनिसियाविरुद्ध केनले दुई गोल गरेका थिए । पानामाविरुद्ध ह्याट्रिक गरेका केनले अन्तिम १६ मा कोलम्बियाविरुद्ध पनि एक गोल गरेका थिए । इंग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा पुगिसकेको कारण केनको गोलसंख्या बढ्ने अनुमान गरिएको छ । अहिलेको स्थितिमा केनले नै गोल्डेन बुट जित्ने सम्भावना बढी छ ।
गोल्डेन बुटको दाबीमा बेल्जियमका लुकाकु नै केनको मुख्य प्रतिस्पर्धी देखिएका छन् । लुकाकुले चार गोल गर्दै केनलाई पछ्याईरहेका छन् । क्रिष्टियानो रोनाल्डोसंग समान चार गोल गरेका लुकाकुको गोलसंख्या बढ्ने अनुमान गरिएको छ । किनकी, बेल्जियमले विश्वकपको क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको छ । क्वाटरफाइनलमा गोल गर्न सके लुकाकुले केनलाई भेट्टाउन सक्ने छन् ।
यस्तै गोल्डेन बुटका दाबेदार अन्य खेलाडीमा फ्रान्सका केलियन एमबाप्पे, उरुग्वेका एडिनसन काभानी, रुसका डेनिस चेरीशेभ र अर्तेम डज्युबा पनि हुन् । क्वाटरफाइनललिस्ट टोलीका चारै खेलाडीले समान ३ – ३ गोल गरेका छन् । स्पेनका डिएगो कोष्टाको पनि ३ गोल रहेको छ । तर, स्पेन विश्वकपबाट बाहिरीसकेको कारण उनको सम्भावना सकिएको छ ।
त्यस्तै ब्राजिलका नेयमार, बेल्जियमका इडेन हाजार्ड, फ्रान्सका एन्टोनी ग्रीजम्यान, स्विडेनका अन्द्रियास ग्रान्डभिकस्ट, उरुग्वेका लुइस स्वारेज,इंग्ल्यान्डका जोन स्टोन, क्रोएसियाका लुका मोड्रिक र ब्राजिलका फिलिपे कौटिन्होले पनि गोल्डेन बुट जित्ने सम्भावना कायम राखेका छन् ।यी सबैले अहिलेसम्म २ – २ गोल गरिसकेका छन् ।