काठमाडौं । इन्डोनेसियामा हुने १८ औं एसियन गेम्समा सहभागी हुने नेपाली राष्ट्रिय उसु टोलीलाई नेपाल पेलेट फिड इन्डस्ट्रिजले ट्रयाकसुट प्रदान गरेको छ । इन्डस्ट्रिजले प्रोत्साहन स्वरुप बुधबार १० खेलाडी, ३ प्रशिक्षक र १ व्यवस्थापक गरी १४ सदस्यीय टोलीलाई विश्व प्रसिद्ध ब्रान्ड एडिडासको ट्रयाकसुट प्रदान गरेको हो ।
एसियन गेम्समा सहभागी हुने पुरुष खेलाडीमा विजय सिन्जाली, युवराज थापा, पदम ठकुल्ला, मंगलप्रसाद थारु, वीरमान लामा र चित्रसिंह ठकुरी रहेका छन् । महिलामा निमा घर्ती मगर, सुस्मिता तामाङ, जुनी राई र लुमन्ति श्रेष्ठ छन् । प्रशिक्षकमा उसु प्रमुख प्रशिक्षक अम्बरकुमार थिङ, शैलेन्द्र श्रेष्ठ र फत्तबहादुर लामा तथा व्यवस्थापकमा लाक्पा छिरिङ लामा छन् ।
नेपाली टोलीका मंगल र सुस्मिताले इन्चोन एसियाड पनि खेलेका थिए । यस्तै निमा १२ औं सागकी स्वर्णधारी हुन् भने विजय, युवराज, सुस्मिता र जुनीले १२ औं सागमा रजत जितेका थिए । पदम, वीरमान र लुमन्तिको इन्डोनेसिया एसियन गेम्स ‘डब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।
नेपालले चीनको बेइजिङमा सन् १९९० मा भएको ११ औं एसियाली खेलकुददेखि उसुमा पहिलोपटक सहभागिता जनाएको थियो । त्यसयता नेपालले उसुमा निरन्तर भाग लिदै आएको छ । तर, नेपाल पदकविहीन छ ।
टोलीलाई नेपाल उसु संघका सह–अध्यक्ष वीरबहादुर तामाङ, इन्डस्ट्रिजका सञ्चालकद्वय नारायण गिरी र राजकुमार गिरीले एक कार्यक्रमबीच ट्रयाकसुट हस्तान्तरण गरे ।