एजेन्सी । रुसमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत अहिले भईरहेको कोलम्बिया र इंग्ल्यान्डबीचको खेल अतिरिक्त समयमा गएको छ । निर्धारित ९० मिनेटको खेल १ - १ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समय तर्फ गएको हो ।
स्पार्टक स्टेडियममा जारी प्रतिस्पर्धात्मक खेलको इन्जुरी समयमा कोलम्बियाका युरी मिनाले गोल गरेपछि खेल अतिरिक्त समयतर्फ गएको हो । इन्जुरी समयमा मिनाले हेड गोल गरेका थिए ।
यसअघि खेलको ५७ औं मिनेटमा कप्तान ह्यारी केनको पेनाल्टी गोलबाट इंग्ल्यान्डले सुरुवाती अग्रता बनाएको थियो । कोलम्बियाका सान्चेजले केनलाई पेनाल्टी एरियामा लडाएपछि इंग्ल्यान्डले पेनाल्टी पाएको हो । जसमा केनले सहजै गोल गरे । केनको यो विश्वकपमा छैटौं गोल हो ।
कोलम्बियाविरुद्धको खेल अहिलेसम्म इङ्ल्याण्डले गुमाएको छैन् । पछिल्लो पटक सन् २००५ मा कोलम्बियाविरुद्ध भएको खेल इङ्लिस टोलीले ३–२ गोल अन्तरले जितेको थियो । जसमा माईकल ओवेनले ह्याट्रिक गरेका थिए ।