देवराज सुवेदी
मेलम्ची । गोरखाका भिम बहादुर गुरुङ र जुम्लाका सुनमाया बुढाले हेलम्बु ट्रेल म्याराथनको उपाधि जितेका छन् । भिमले पुरुष र महिलातर्फ सुनमायाले उपाधि जितेका हुन् ।
सिन्धुपाल्चोकको हेलम्बुमा शनिबार भिमले निर्धारीत ४२ किलोमिटरको दुरी ५ घण्टा ७ मिनेट ७ सेकेण्डमा पुरा गर्दै उपाधि जिते । उपाधिसंगै भिमले ५० हजार नगदसहित स्थानीय मौलिक बाजा टुङना पुरस्कार प्राप्त गरे ।
पुरुषतर्फ ओखलढुङगाका सुमन कुलुङले ५ घण्टा ११ मिनेटमा दौड पुरा गर्दै दोस्रो स्थान प्राप्त गर्दै नगद ३० हजार सहित खुकुरी पुरस्कार पाए । तेस्रो भएका सोलुखुम्बुका कल्साङ तामाङले ६ घण्टामा दौड पुरा गर्दै नगद १५ हजार सहित डम्फु पुरस्कार प्राप्त गरे ।
महिलातर्फको उपाधि जित्ने क्रममा सुनमायाले निर्धारीत दुरी ६ घण्टा १५ मिनेटमा पुरा गरे । सुनमायाले पनि ५० हजार पुरस्कार प्राप्त गरिन् । दोस्रो भएकी खोटाङकी प्रिया राईले ७ घण्टा २५ मिनेटमा दुरी पुरा गर्दे नगद ३० हजार प्राप्त गरिन् । त्यस्तै ओखलढुङगाकी छोकी शेर्पाले ८ घण्टा ७ मिनेट ३७ सेकेण्डमा दुरी पुरा गर्दे तेस्रो स्थान हासिल गरिन् ।
हेलम्बु ट्रेल रेस रनिङ क्लबको आयोजना र हेलम्बु गाउँपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा २१ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।
विजयी खेलाडीहरुलाई हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पा तथा अन्तराष्ट्रिय अल्ट्रा धाविका मिरा राई लगायतले पुरष्कृत गरे ।