एजेन्सी । रुसमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत प्रि क्वार्टरफाईनलको खेलमा अहिले स्विडेन र स्विजरल्याण्डले प्रतिस्पर्धा गरिरहेका छन् ।
सेन्ट पिटर्सबर्ग स्टेडियममा जारी खेलको दोस्रो हाफमा स्विडेनले सुरुवाती अग्रता बनाएको छ । खेलको ६६ औं मिनेटमा इमील फोर्सवर्गको गोलबाट स्विडेनले अग्रता बनाएको हो । उनको कडा प्रहार स्विस डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएको थियो ।
पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका दुवै टोलीले पहिलो हाफमा पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । आज दुवै टोली अन्तिम ८ प्रवेशका लागि कोशिश गरिरहेका छन् ।
२४ बर्षपछि स्विडेन विश्वकपको अन्तिम ८ को नजिक पुगेको हो । सन् १९९४ मा अमेरिकामा भएको विश्वकपमा स्विडेनले तेस्रो स्थान हात पारेको थियो ।
सन् १९५४ को विश्वकपको आयोजना गरेको स्विजरल्याण्डले त्यसयता विश्वकपको अन्तिम ८ मा स्थान बनाउन सकेको छैन् ।