एजेन्सी । कोलम्बिया र इंग्ल्यान्ड विश्व फुटबलका ठुला राष्ट्र हुन् । रुसमा जारी विश्वकप फुटबलको प्रि-क्वाटरफाइनलमा आज कोलम्बिया र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्दै छन् ।
स्पार्टक स्टेडियममा हुने राति खेलमा दुवै टोली अन्तिम आठमा पुग्ने लक्ष्यमा रहनेछन् । यस्तोमा दुवै टोलीले आज आफ्नो सम्पूर्ण हतियार प्रयोग गर्ने छन् । दुवै टोलीले यो खेलमा आफ्ना स्टार खेलाडीबाट आशा गरेका छन् ।
आजको खेलमा कोलम्बियाले जेम्स रोड्रीगेजलाई मुख्य खेलाडीको रुपमा प्रस्तुत गर्न सक्ने छन् । यस्तै इन्ग्लिश टोलीले ह्यारी केनलाई मुख्य खेलाडी बनाउने छन् ।
जेम्स रोड्रीगेज (कोलम्बिया)
सन् २०१४ को ब्राजिल विश्वकपमा गोल्डेन बुट विजेता खेलाडी हुन्, जेम्स रोड्रीगेज । कोलम्बियन अट्याकिङ मिडफिल्डर रोड्रीगेज इंग्ल्यान्डविरुद्ध मुख्य खेलाडीको रुपमा रहने छन् ।
ब्राजिल विश्वकपमा उनले ५ खेल खेल्दै ६ गोल गरेका थिए । त्यसपछि उनलाई स्पेनिस क्लब रियल मड्रिडले भित्राएको थियो । रोड्रीगेज अहिले लोनमा जर्मन क्लब वायर्न म्युनिखबाट खेल्ने गर्छन । यो सिजन वायर्न म्युनिखबाट २६ वर्षीय रोड्रीगेजले २३ खेलमा ७ गोल गरेका थिए ।
रोड्रीगेजले विश्वकप छनोटमा १३ खेलमा ६ गोल गरेर आफु विश्वकपको लागि तयार रहेको देखाइसकेका छन् । त्यसैले, इंग्ल्यान्डविरुद्ध कोलम्बियाले रोड्रीगेजलाई मुख्य हतियार बनाउने छन् । जारी विश्वकपको समूह चरणमा एक गोल गरिसकेका रोड्रीगेज निकै उत्कृष्ट स्ट्राइकर हुन् । लामा लामा सट प्रहार गर्न माहिर रोड्रीगेज डिबक्स बाहिरबाट गोल गर्न निकै खप्पिस छन् ।
ह्यारी केन (इंग्ल्यान्ड)
इन्ग्लिश टोलीका कप्तान ह्यारी केन जारी विश्वकप फुटबलको सर्वाधिक गोलकर्ता हुन् । रुस विश्वकपमा गोल्डेनबुट दाबेदार केनबाट आज इंग्ल्यान्डले धेरै आशा गरेको छ । उनको प्रदर्शनमा आज इन्ग्लिश टोलीको परीक्षा हुनेछ ।
इन्ग्लिश क्लब टोटनह्यामका २४ वर्षीय स्ट्राइकर केनले विश्वकपको समूह चरणमा ५ गोल गरिसकेका छन् । दुई खेलमा ५ गोल गरेका उनले पानामाविरुद्ध ह्याट्रिक गरेका थिए । यस्तै ट्युनिसियाविरुद्ध उनले २ गोल गरेका थिए ।
यो सिजन उच्च लयमा रहेका केन निकै चलाख खेलाडी हुन् । टिमलाई चाहिएको बेला गोल गर्न सक्ने खुबी उनको रहेको छ । केन आज चम्किए इंग्ल्यान्डलाई जित निकाल्न कुनै कठिनाई हुने छैन ।