काठमाडौं । नेपालले विश्व ¥याफटिङ च्याम्पियनसिप खेल्ने भएको छ । अस्ट्रेलियामा हुने विश्व च्याम्पियनसिपमा नेपाली टोलीले प्रतिस्पर्धा गर्ने भएको हो ।
प्रतियोगिता खेल्ने ७ खेलाडीसहित ८ सदस्यीय नेपाली टोलीलाई सरकारले मंगलबार बिदाई गरेको छ । मे १३ देखि २० तारिखसम्म हुने प्रतियोगितामा शक्तिकुमार गुङ, पदमबहादुर गुरुङ, दिपेश गुरुङ, सविन गुरुङ, सुनिल गुरुङ र रबिल मियाले पुरुष खुला टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।
प्रशिक्षकमा सुरज गुरुङ रहेका छन् ।
टिममा २ सय ५० मिटरको स्प्रिन्ट, ३ सय ५० मिटरको हेड टु हेड, ४ सय ५० मिटरको स्लालम र २१–२५ मिटरको डाउन रिभर रेसमा प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ ।
नेपालले मे १६ तारिखमा स्प्रिन्ट, मे १७ मा हेड टु हेड, मे १८ मा स्लालम र मे १९ मा डाउन रिभर रेसमा सहभागिता जनाउने छ ।
नेपालले विश्व च्याम्पियनसिपमा दोश्रो पटक सहभागिता जनाउन लागेको हो । २०१७ मा जापानमा भएको विश्व च्याम्पियनसिपमा नेपालले पहिलो पटक सहभागिता जनाएको थियो ।