एजेन्सी । ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले उपाधि जित्नको लागि रुस आएको बताएका छन् । विश्वकपको प्रि-क्वाटरफाइनलमा मेक्सिकोलाई हराउदै अन्तिम आठमा प्रवेश गरेपछि नेयमारले आफु जित्नको लागि आएको बताएका हुन् ।
नेयमारले मेक्सिकोविरुद्ध एक गोल र गोलको लागि एक पास उपलब्ध गराईदिएका थिए । जितपछि फिफासंग नेयमारले भने, 'म जित्नको लागि यहाँ छु । म सधैँ आफुलाई सुधार गर्न सक्नेमा आशावादी छु । मलाई थाहा छ, सामान्य लयमा फर्कन मलाई केहि गति चाहिन्छ। मैले राम्रो भइरहेको अनुभव गरेको छु ।'
रुस विश्वकपको सुरुवाती दुई खेलमा जम्न नसकेका नेयमारले २ गोल गरिसकेका छन् । उनले दुई गोलको लागि पास पनि उपलब्ध गराईसकेका छन् ।
ब्राजिलका लागि ८९ खेलमा ५७ गोल गरिसकेका नेयमारले जारी विश्वकपमा टिमको प्रदर्शनबाट समेत खुसी रहेको बताएका छन् । नेयमारले भनेका छन्, 'मेरो टिमबाट म खुसी छु र म मेरो टिमलाई शुभकामना दिन्छु । हामी सधैं सुधार गरिरहेका छौं।'