एजेन्सी । समूह चरणमा प्राप्त जितले बेल्जियम उत्साहित भएको हुनपर्छ । विश्वकप फुटबलको नकआउट चरणमा एसियाली पावर हाउस जापानविरुद्ध भिड्दै गर्दा रेड डेभिल्सको नजर तेस्रो पटक क्वार्टरफाईनलमा पुग्नु हुनेछ ।
बेल्जियम प्रशिक्षक रोबर्टो मार्टिनेजले पहिलो रोजाईका खेलाडीलाई समूह चरणको अन्तिम खेलमा इङ्ल्याण्डविरुद्ध बेन्चमा राखे । तर पनि बेल्जियमले सो खेल १–० ले जित्यो । बेल्जियमले सन् १९८६ यता विश्वकपमा गतिलो प्रर्दशन गर्न सकेको छैन । सो विश्वकपमा बेल्जियमले चौथो स्थान हात पारेको थियो । त्यही इतिहास दोहोराउने लक्ष्यमा बेल्जियम रहेको छ ।
यता, एसियाली राष्ट्र जापानले अहिलेसम्म विश्वकपमा अन्तिम ८ मा प्रवेश गर्न सकेको छैन् । एउटा नयाँ इतिहास बनाउने मौकाले जापानलाई पर्खिएर बसेको छ । समूह चरणको खेलमा बेल्जियमले उत्कृष्ट प्रर्दशन गर्यो । उसले ९ गोल गर्यो । जापानविरुद्ध उत्रदै गर्दा बेल्जियमका रोमेलु लुकाकुमा सबैको नजर रहनेछ । उनी जारी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको दौडमा रहेका छन् ।
बेल्जियमका थोमर म्युनिर, केभिन डि ब्रोयन, योरी तिलिम्यान लगायतका खेलाडीलाई पहेलो कार्डको समस्या छ । आजको खेलमा कार्ड खाएको खण्डमा बेल्जियमका मुख्य खेलाडीले क्वार्टरफाईनलको खेल गुमाउन सक्छन् । सोही तनाव जापानलाई समेत छ । बेल्जियम प्रशिक्षक मार्टिनेजलाई टोली तयार बनाउन सबै खेलाडी उपलब्ध हुनेछन् । जसमा अदनान जानुजज मात्र अनुपस्थित हुन सक्ने सम्भावना छ ।
प्रशिक्षक मार्टिनेजले जानुजजको चोट गम्भिर नभएको बताएका छन् । भिसेन्ट कोम्पनीले यस विश्वकपमा पहिलो पटक उत्रन सक्छन् । यदी उनी तयार नभएको खण्डमा अन्य खेलाडी रोज्ने अवसर प्रशिक्षकलाई प्राप्त छ ।
जापानले कप्तान माकोतो हासीबी मिडफिल्डमा फर्कने अपेक्षा गरिएको छ । मुख्य खेलाडी ताकासी इनुई र स्ट्राईकर युया ओसाकोले समेत सुरुवाती लाईन अपमा स्थान बनाउनेछन् । प्रिमियर लिग क्लब लेस्टरका स्ट्राईकर सिन्जे ओकाजाकी चोटका कारण खेलमा फर्कन कोशिश गरिरहेका छन् ।
बेल्जियमले जापानविरुद्धका पछिल्ला पाँच भिडन्तमा मात्र एकमा जित निकालेको छ । गत बर्षको नेभेम्बरमा भएको भेटमा बेल्जियमले जापानलाई हराएको थियो । जसमा स्ट्राईकर रोमेलु लुकाकुले गोल गरेका थिए ।