बाँके । त्रिभुवन आर्मी क्लब आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको पहिलो सेमिफाइनलमा प्रदेश ५ लाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।
नेपालगंज रंगशालामा निर्धारित ९० मिनेटको समय २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जसमा आर्मीले सफलता हात पार्यो ।
पेनाल्टीमा आर्मीका नवयुग श्रेष्ठ, विवेक बस्नेत र सन्तोष तामाङले गोल गरे । जितेन्द्र कार्की र दिपक गुरुङले गोल गर्न सकेनन् ।
प्रदेश ५ का कृष्ण रानाभाटले गोल गर्दा दिपेन सिंह ठकुरी,चेतन चौधरी र विवेक पुनले गोल गर्न सकेनन् ।
पेनाल्टीअघि खेलमा आर्मीले २-० को अग्रता जोगाउन सकेन् । खेलको २० औं मिनेटमा आर्मीले दिपेन सिंह ठकुरीको आत्मघाती गोलबाट आर्मीले अग्रता बनाएको थियो । खेलको ३१ औं मिनेटमा दिप कुमार लामाले गोल गर्दै आर्मीको अग्रता २-० को बनाए ।
तर, खेलको ७५ औं मिनेटमा विनोद केसीले पेनाल्टीमा गोल गर्दै प्रदेश ५ लाई खेलमा फर्काए । त्यसपछि खेलको ८० औं मिनेटमा विनोदले पेनाल्टीमा नै व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।
अब आर्मीले स्वर्ण पदकका लागि नेपाल पुलिस क्लब र एपीएफ क्लबबीचको विजेतासंग खेल्नेछ ।