बुटवल । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटवलमा विभागिय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले सेमिफाइनलमा स्थान बनाएका छन् ।
देविनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा आईतबार आर्मीले सुदुरपश्चिमाञ्चलसंग १-१ गोलको बराबरी खेल्यो ।
आर्मीका भरत खवासले पेनाल्टीमा गोल गरेका थिए । तर, सुदुरका प्रभुराज जोशीले बराबरी गोल फर्काएका थिए ।
यस्तै दोस्रो खेलमा पुलिसले कर्णाली प्रदेशलाई २–१ गोल अन्तरले पराजित गर्यो ।
पुलिसका लागि हरि कठायत र सुमन सुवेदीले गोल गरे । कर्णालीका खगेन्द्र खत्रीले एक गोल फर्काए ।
पुरुष फुटबल अन्तर्गत नै एपीएफ र ५ नम्बर प्रदेशले सेमिफाइनलमा स्थान पक्का गर्यो ।
बाँकेको खजुरामा आइतबार आशिष लामाको ह्याट्रिक गरेपछि एपीएफले ३ नम्बर प्रदेशलाई ४–० गोलले पराजित गर्यो । एपीएफका सुदीप सिम्राकारले थप एक गोल गरे ।
प्रदेश ५ भने एक खेल अगाबै सेमिफाइनलमा पुगिसकेको छ ।
आइतबार भएको दोस्रो खेलमा गण्डकी प्रदेशले १ नम्बर प्रदेशलाई ४–० गोल अन्तरले पराजित गर्यो । गण्डकीका लागि टीकाराज गुरुङले दुई तथा त्रिदेव गुरुङ र विजय श्रेष्ठले एक एक गोल गरे ।