बाँके । आठौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलमा एपीएफले गण्डक प्रदेशलाई हराएको छ । शनिबार बिहान भएको एको खेलमा एपीएफले गण्डक प्रदेशलाई २–१ ले हराउँदै समुह चरणमा दोस्रो जित दर्ता गरेको हो ।
अघिल्लो खेलमा घरेलु टोली प्रदेश ५ संग पराजित एपीएफलाई प्रतियोगितामा पुनरागमन गर्न जित आवश्यक थियो । त्यही पुनरागमन जित सहित एपीएफले शीर्ष स्थानको प्रदेश ५ संग तालिकामा ६ अंक जोडेको छ ।
खेलमा अग्रता गण्डक प्रदेशले २७ औ मिनेटमा टीकाराम गुरुङको गोलबाट लिएको थियो । तर लगातार दुई गोल गर्दै एपीएफले तीन अंक जोड्न सफल रह्यो ।
५७ औ मिनेटमा राजेन्द्र रावलले बराबरी गोल फर्काएका थिए । ७९ औ मिनेटमा युवा फरवार्ड आशिष लामाले विजयी गोल गरेका थिए ।
खेलपछि एपीएफ प्रशिक्षक राजेन्द्र तामाङले गर्मीका कारण सोचे अनुसारको प्रर्दशन गर्न नसकिएको बताए ।
'गर्मीले गर्दा खेल्न कठिन भइरहेको छ । तर अन्तिम खेल महत्वपुर्ण छ । कम्तिमा बराबरीको नतिजा सहित अघिल्लो चरण पुग्ने योजना छ ।' उनले भने ।
समुह एमा प्रदेश ५ र एपीएफको समान ६ अंक भएको छ । एपीएफले लिग चरणको अन्तिम खेलमा तीन नम्बर प्रदेशसंग खेल्नेछ ।