दाङ । आठौं राष्ट्रिय खेलकूद अन्तर्गत महिला ज्याभलिन थ्रोमा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।
दाङको बेलझुण्डीमा शुक्रबार चन्द्रकलाले ४४.०५ मिटर थ्रो गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । उनले आफ्नै नाममा रहेको ४३.९४ मिटरको कीर्तिमान भंग गरेकी हुन् । राष्ट्रिय कीर्तिमान बनाएसंगै चन्द्रकलाले थप २५ हजार रुपैयाँ पाउने छिन्।
चन्द्रकलाको यो लगातार दोस्रो राष्ट्रिय कीर्तिमान हो । बिहिबार चन्द्रकलाले महिला सटपुटमा कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिईन् । आर्मीकी लक्ष्मी थारु दोश्रो तथा एपीएफकी सीमाकुमार थारु तेश्रो भए ।
पुरुषमा आर्मीका रोहित चौधरी पहिलो भए । उनले ५६.५८ मिटर टाढा फाले । एपीएफका मनोज डगौरा दोश्रो तथा प्रहरीका वीरेन्द्र चौधरी तेश्रो बने ।
पुरुष १ हजार ५ सय मिटर दौडमा आर्मीका टंक कार्कीले स्वर्ण जिते । निर्धारित दूरी तय गर्न टंकले ४ मिनेट ०१.९ सेकेन्ड समय लगाए । आर्मीकै उमेश मगरले रजत तथा एपीएफका सन्तोष विष्टले कांस्य जिते । सो स्पर्धाको महिलामा आर्मीकी सरस्वती भट्टराईले शीर्ष स्थान हात पारिन् । सरस्वतीले ४ मिनेट ३६.० सेकेन्ड समय खर्चिन् । प्रदेश ३ की सन्तोषी श्रेष्ठ दोश्रो तथा एपीफकी फुलमती राणा तेश्रो भए ।
पुरुष लङजम्पमा आर्मीका डिल्ली खत्री पहिलो भए । उनले ६.९६ मिटर हाम्फाले । प्रदेश ३ का भुवन महतो दोश्रो तथा प्रहरीका गोपाल चौधरी तेश्रो स्थानमा रहे । त्यसै स्पर्धाको महिलामा ५.२१ मिटर हाम्फालेर आर्मीकी कृष्णा चौधरी पहिलो भइन् । एपीएफकी शिला चौधरी दोश्रो तथा प्रदेश ५ की जयरानी चौधरी तेश्रो भए ।