भैरहवा । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष टी-ट्वान्टी क्रिकेटमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले जित निकालेका छन् ।
बिहिबार एपीएफले प्रदेश पाँचलाई ५ विकेटले पराजित गर्दै लगातार २ खेलमा जित हात पार्यो । सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गर्यो ।
प्रदेश पाँचले दिएको ९१ रनको लक्ष्य एपीएफले १८.१ ओभरमा ५ विकेट गुमाई पुरा गर्यो । उसका शंकर रानाले ३१ बलको सामना गर्दै ४ चौकाको मद्दतमा नटआउट ३२ रन बनाए । यस्तै, प्रदीप ऐरीले २३ तथा अमरसिंह रौतेलले नटआउट ११ रन बनाए । बलिङमा प्रदेश पाँचका विक्रम भुसाल, संदीप सुनारले २–२ र कृष्ण कार्कीले १ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश पाँचले निर्धारित खेलमा ८ विकेट क्षतिमा ९० रन बनाएको थियो । उसका जसमा संदीप सुनारले २६, अनुपम सिंहले १५ र सिद्धान्तराज शाहीले १४ रन बनाए । बलिङमा एपीएफका बसन्त रेग्मीले ३, शरद भेष्वाकर, भुवन कार्कि, अभिनास बोहरा र यज्ञमान कुमालले समान १–१ विकेट लिए । एपीएफका बसन्त रेग्मी म्यान अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले १ सय २२ रन बनायो । उसका लागि खडक बोहोराले ५ चौकाको मद्दतमा ३६ रन बनाए । यस्तै, लोकेश बमले २१ तथा अरुण ऐरीले नटआउट १९ रन बनाए । बलिङमा गण्डकी प्रदेशका किशोर महतले ४ ओभरमा १ मेर्डन राख्दै ३० रन खर्चेर १ विकेट लिए । यस्तै, विपिन खत्री र विशाल पौडेलले पनि १–१ विकेट लिए ।
सुदूरपश्चिमले दिएको १२३ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीले १९.१ ओभरमा सबै विकेट गुमाई ९१ रन मात्रै बनायो । उसका लागि करण केसीले ३५ र अनिल गुरुङले १८ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंग जोड्न सकेनन् । बलिङमा म्यन अफ द म्याच समेत रहेका सुदूरपश्चिमका महेश अधिकारीले ४ ओभरमा २ मेर्डन राख्दै ११ रन खर्चेर ४ विकेट लिए ।