भैरहवा । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले विजयी सुरुवात गरेका छन् ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा बुधबार भएको खेलमा पुलिसले प्रदेश नं. ५ लाई ६३ रनले र एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्यो ।
पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको पुलिस क्लबले २० ओभरमा ८ विकेट क्षतिमा १ सय ७१ रनको ठुलो योगफल बनायो । उसका लागि कुशल भूर्तेलले ६ चौका, एक छक्का मद्दतमा ३१ बलमा ५५ रन बनाए । यस्तै, दीपेन्द्रसिंह ऐरीले ३८ र कप्तान मञ्जित श्रेष्ठले नटआउट २२ रन बनाए । बलिङमा प्रदेश पाँचका कृष्ण कार्की, विक्रम भुसाल र शौरभ खनालले समान २–२ विकेट लिए ।
१ सय ७२ रनको विजयी लक्ष्यसहित ब्याटिंग गर्न मैदान उत्रेको प्रदेश पाँचले निर्धारीत २० ओभरको खेलमा ६ विकेट क्षतिमा १ सय ८ रन मात्रै बनाउन सक्यो । उसका लागि अनुपम सिंहले ३७ र कृष्ण कार्कीले नटआउट १७ रन बनाए । बलिङमा पुलिसका ललित राजवंशीले २, दीपेन्द्र सिंह ऐरी, मञ्जित श्रेष्ठ, कुशल भूर्तेल र आरिफ सेखले समान १–१ विकेट लिए । पुलिसका कुशल भूर्तेल म्यान अफ द म्याच घोषित भए ।
दोश्रो खेलमा जितका लागि सुदूरपश्चिमबाट पाएको ८२ रनको लक्ष्य सशस्त्रले १९ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो । उसको जितमा शरद भेष्वाकरले सर्वाधिक १८, भुवन कार्किले १६ र सुमित महर्जनले नटआउट १५ रन बनाए । बलिङमा सुदूरपश्चिमका नरेन्द्र साउद र शेर मल्लले समान २–२ तथा महेश अधिकारी, विकाश ऐरी र अजय ऐरीले समान १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले १८.३ ओभरमा सबै विकेट गुमाई ८१ रन बनाएको थियो । उसका लागि दीपक बोहराले १७, लोकेश बमले १५ र खडक बोहराले १२ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा सशस्त्रका शरद भेष्वाकरले ५, भुवन कार्कीले २, बसन्त रेग्मी र पृथु बाँस्कोटाले १–१ विकेट लिए । शरद म्यान अफ द म्याच भए ।