काठमाडौं । आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको पुर्वाधार निर्माणको काम चैत २५ गते भित्र सकिने भएको छ । भौतिक पुर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिदै प्रदेश नम्बर पाँचका खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले चैत २५ भित्र सम्पुर्ण पुर्वाधार बनिसक्ने बताएका छन् ।
‘खेल प्रतियोगिता आयोजना हुने स्थानको सतप्रतिशत पुर्वाधार निर्माणको काम चैत २५ गते सकिन्छ ।’ उनले भने ।
प्रतियोगिताको उद्घाटन स्थल नेपालगञ्ज रंगशालाको भिआईपी प्याराफिट निर्माणको काम तिव्र गतिमा अघि बढेको छ । भिआईपी प्याराफिटको निर्माणको काम अघि नबढ्दा प्रतियोगिता आयोजनाको मितिलाई लिएर विभिन्न आशंका सिर्जना भएका थिए ।
‘भिआईपी प्याराफिटको मात्रै निर्माण नभएको हो । प्याराफिट ठडाउने काम मात्र बाँकी रहेकाले ८० प्रतिशत काम सकिएको छ । अब १० दिन भित्र सबै काम सम्पन्न हुन्छ ।’ राष्ट्रिय खेलकुद परिषदका सदूस्य सचिव केशवकुमार विष्टले भने ।
‘पछिल्लो प्रगति देखेर हामी निकै हौसिएका छौं, यही चैत्रमै प्रतियोगिता गर्न अब पूर्वाधार निर्माण नभए रोकिने छैन, यसमा सबैले साथ दिन जरुरी छ ।’ उनले थपे ।
राखेपले चैत २७ गते प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने गरि काम अघि बढेको जनाएको छ । खेलकुद मन्त्री जगत विश्वकर्माले समेत प्रतियोगिताको मिति तोक्न भोली (शुक्रबार) परिषद्को बोर्ड बैठक बोलाएका छन् ।
प्रतियोगिता हुने बाँके, बर्दिया र स्थानीय तहमा आठौंको लागि सरसफाई, स्वागतद्वारा बनाउने र रंगरोहन गर्ने काम अघि बढेको छ ।
स्थानीय तहसंग सम्रन्वय गरि विभिन्न उपसमिति बनाउने काम अघि बढेको प्रतियोगिता प्रचार प्रसार उपसमितिले जनाएको छ ।
प्रदेश नम्बर ५ का खेलकुद विकास समितिका उपाध्यक्ष नरेन्द्र थापाले यसै बर्ष प्रतियोगिता आयोजना गर्न स्थानीयको चाहाना रहेको उल्लेख गरे ।
आठौंका लागि नेपालगञ्जमा मात्र करिब एक अर्वको लगानीमा भौतिक संरचनाको निर्माण भएको छ ।