काठमाडौं । टेबल टेनिसको महिलातर्फ पुर्व नेपाल च्याम्पियन्स रीता मुखर्जी शाहले खेल जीवनबाट सन्यास घोषणा गरेकी छिन् ।
राजधानीमा बुधबार एक पत्रकार सम्मेलन गर्दै पुर्व च्याम्पियन शाहले सन्यास घोषणा गरेकी हुन् । अन्तर्राष्ट्रिय भेट्रान्स टेबल टेनिस विजेता शाहले ७४ बर्षको उमेरमा सन्यास घोषणा गरेकी हुन् ।
लामो समय टेबल टेनिसमा बिताएकी शाहले सन्यास घोषणा गर्दै नेपाली टेबल टेनिस खेलको विकास हेर्ने चाहना भएको बताईन् ।
'मेरो खेल जीवनलाई सफल बनाउन सहयोग गर्ने परिवार, खेलाडी र प्रशिक्षक सबैमा आभार व्यक्त गर्न चाहन्छु,' सन्यास घोषणा गर्दै शाहले भनिन्,'आजकै दिनबाट मैले खेल जीवनबाट सन्यास घोषणा गर्दछु । टेबल टेनिस खेलको निरन्तर विकासको कामना गर्दछु ।'
१५ बर्षकै उमेरमा शाहले चीनको बेइजिङमा भएको विश्व टेबल टेनिस च्याम्पियनसिपमा नेपालबाट प्रतिस्पर्धा गरेकी थिईन् । उनले १५ बर्षकै उमेरमा नेपालबाट ओलम्पिक खेलेकी थिईन् ।
शाह बिस २०१५ देखि २०२० सम्म लगातार पाँच बर्ष नेपाल च्याम्पियन बनेकी थिईन् ।
पछिल्लो समय शाहले भेट्रान स्पर्धामा खेल्दै आएकी थिईन् । शाहले अन्तिम पटक दुई बर्षअघि भारतको गोवामा सम्पन्न अन्तराष्ट्रिय भेट्रान च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेकी थिईन् । शाहले १० बर्ष भेट्रानतर्फ प्रतिस्पर्धा गरेकी थिईन् ।