काठमाडौं । नेपालका सुजन गुरुङले हङकङमा सम्पन्न एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा आइतबार कांस्य पदक जितेका छन् ।
हङकङस्थित कोवलोन स्पोर्ट्स पार्क सेन्टरमा सम्पन्न च्याम्पियनसिप अन्तर्गत फाइटतर्फ गुरुङले कांस्य पदक दिलाएको नेपाली टोलीका व्यवस्थापक कुमार लामा घिसिङले जानकारी दिएका हुन् ।
फाइटको ५८ केजीमुनि तौलसमूहको सेमिफाइनलमा चीनका खेलाडी सिकोम किम्पोसँग ९–४ को स्कोरमा स्तब्ध भएपछि गुरुङले कांस्य पदकमै चित्त बुझाए ।
त्यसअघि प्रिक्वार्टरफाइनलमा सिंगापुरका नोचाम्बो लिकाओलाई ९–७ ले र क्वार्टरफाइनलमा मंगोलियाका तोमातोरेट मिसिम्बोलाई १३–९ ले पराजित गर्दै गुरुङले नेपालको पदक पक्का गरेका थिए ।
राजु खड्काको प्रशिक्षणमा रहेका गुरुङ सेमिफाइनलमा भने चीनका खेलाडीको चुनौतीलाई पार गर्न नसक्दा कांस्यमै सीमित भए ।
नेपाली टोलीको हेड अफ टिममा राष्ट्रिय टिमका प्रशिक्षकसमेत रहेका नोर्बु लामा छन् ।