काठमाडौं । कमल भण्डारी र प्रनव खनाल एघारौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिताको पुरुष एकलतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
हलचोकस्थित सशस्त्र प्रहरीको लनटेनिस कोर्टमा सोमबार छेवाङ्ग लामालाई ६–० र ६–१ को सेटमा पराजित गर्दै कमलले क्वाटरफाइनलमा स्थान बनाए । यस्तै प्रनवले गौरवप्रताप शाहीलाई ६–० र ६–१ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
पुरुष एकलतर्फ नै सम्यक बज्राचार्यले पल मार्टिन सोललाई ५–७, ६–४ र ६–३ को सेटमा हराए । जितेन्द्र परियारले रामबहादुर रोक्कालाई ६-० र ६- ० को सेटमा हराए ।
यस्तै अनिल शाहीले नविन मगरलाई ६–१, ३–६ र ६-१, इभानोई लिसानोवीकले प्रदिप खड्कालाई ६–२ र ६–३ र अन्तिम खेलमा सन्तोष खत्रीले मनोज महर्जनलाई ६–० र ६–० को सेटमा पराजित गरी क्वाटरफाइनल स्थान बनाए ।
महिला एकलमा भगवती बिकले इन्द्रकला श्रेष्ठलाई ६–२ र ६–३ ले पराजित गरी सेमिफाइनलमा स्थान बनाएकी छिन् ।
त्यस्तै इन्टरगर्भमेन्टल सर्भिस इभेन्टस तर्फको खेलमा केशर गुरुङले किरणजंग कुवँरलाई ६–२ र ६–० ले पराजित गर्दा चन्द्र थापाले देव क्षेत्रीलाई ६–१ र ६–२ ले हराएर सेमिफाईनलमा स्थान बनाए ।
प्रतियोगिताको पुरुष एकलतर्फको विजेताले ६० हजार रुपैयाँ पाउनेछ । यस्तै दोस्रो हुनेले ३० हजार रुपैयाँ, तेस्रो हुनेले १०÷१० हजार रुपैयाँ र क्वाटरफाइनमा पुग्ने प्रत्येकले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । महिला एकलमा पहिलो हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले १०÷१० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।