विराटनगर । अखिल नेपाल फुटबल संघ एन्फाको नियमित साधारण सभा बैठक आज (शनिबार) विराटनगरमा बस्दैछ । गएको बैशाखमा काठमाडौंमा भएको निर्वाचनबाट आएको कार्यसमितिको पहिलो पटक नियमित साधारण सभा बैठक बस्न लागेको हो ।
निर्वाचन लगत्तै एन्फाले साउन मसान्तमा चितवनको सौराहामा विशेष साधारण सभाको आयोजना गरेर आर्थिक नियमावली पारित गर्नुका साथै विविध बिषयमा निर्णय गरेको थियो ।
विराटनगरमा आज सुरु हुने साधारण सभाले एन्फाको आगामी आर्थिक बर्षको बार्षिक कार्यक्रम समेत पारित गर्ने भएकाले यसलाई महत्वका साथ हेरिएको छ ।
प्रारम्भिक रुपमा एन्फाले साधारण सभाका लागि २० वटा एजेण्डा तय गरेको छ ।
जो एजेण्डा निम्न प्रकारका रहेका छन् ।
१) साधारण सभा एन्फाको विधानको प्रकृया अनुसार बोलाइएको घोषणा गर्ने ।
२) विषयसूचिको स्वीकृती गर्ने ।
३) अध्यक्षको सम्बोधन गर्ने।
४) बैठकको निर्णय पुस्तिका तयार गर्न तथा यस भन्दा अगाडिको बैठकको निर्णय स्वीकृतीको लागि सदस्यहरुको नियुत्ती गर्ने ।
५) सदस्यको निलम्बन वा निष्काशन गर्ने ।
६) यस भन्दा अगाडिको कंग्रेस (साधारण सभा) को बैठकको निर्णय स्वीकृत गर्ने ।
७) कार्यप्रगती प्रतिबेदन (अघिल्लो साधारण सभाको बैठक देखि हालसम्म) प्रस्ताव गर्ने ।
८) एकिकृत तथा पुनराबलोकन गरिएको वासलात तथा नाफा नोक्सान विवरणको प्रस्तुती गर्ने।
९) आर्थिक प्रतिवेदन तथा बजेटको स्वीकृती गर्ने ।
१०) विधानको संसोधन प्रस्तावमा मतदान भएमा साधारण सभाको स्थायी व्यवस्था गर्ने ।
११) कार्यकारी समिति तथा सदस्यहरुले माथि परिच्छेद १ मा उल्लेख गरिएको प्रकृया अनुसार पेश गरेको प्रस्ताव उपर छलफल गर्ने।
१२) कार्यकारी समितिको सिफारिसमा स्वतन्त्र लेखा परिक्षकको नियुत्ती गर्ने ।
१३) ब्यत्ती वा सदस्य निकाय वा अंगको बर्खास्तगी गर्ने ।
१४) न्यायिक निकायका सदस्यहरुको निर्बाचन वा बर्खास्तगी गर्ने।
१५) आन्तरिक लेखा तथा अनुपालक समितिका सदस्यहरुको निर्बाचन गर्ने ।
१६) निर्बाचन समितिका सदस्यहरुको निर्वाचन गर्ने ।
१७) अध्यक्ष, उपाध्यक्ष तथा कार्यकारी समितिका सदस्यहरुको निर्वाचन गर्ने ।
१८) सदस्यता प्रवेश सम्बन्धमा निर्णय गर्ने ।
१९) एन्फाका कार्यकारी समिति वा सदस्यहरुले प्रस्ताव गरेका अन्य विषयहरुमा छलफल गर्ने ।
२०) विषय सूचिमा समावेश नगरिएका कुनै पनि बुँदामा साधारण सभाले निर्णय गर्ने छैन ।
बैठकमा अध्यक्ष कर्माछिरिङ शेर्पाले बार्षिक प्रतिवेदन समेत पेश गर्नेछन् । बर्षभरी एन्फाले सञ्चालन गरेका कार्यक्रम र गतिविधि सहितको प्रतिवेदन अध्यक्ष शेर्पाले साधारण सभामा राख्नेछन् ।
साधारण सभाले संघको बार्षिक कार्यक्रम समेत पारित गर्नेछ । एन्फाले युवा कार्यक्रम, महिला राष्ट्रिय लिग कार्यक्रम, क्लब स्तरीय प्रतियोगिता, अन्तराष्ट्रिय सहभागिता, फुटसल प्रतियोगिता तथा कार्यक्रम, प्रशिक्षक प्रशिक्षण कार्यक्रम, रेफ्रि प्रशिक्षण कार्यक्रम, पुरस्कार कार्यक्रम र एन्फाको साधारण सभा बैठक लगायतलाई समावेश गर्दै बार्षिक कार्यक्रम तय गरेको छ ।