काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले बन्दै गरेको खेलकुद विकास ऐनमा केहि असान्दर्भिक बुँदा रहेको भन्दै संसोधन गर्न माग गरेका छन् ।
संघले पहिलो पटक बन्दै गरेको खेलकुद विकास ऐन संसदमा बिचाराधिन रहेको अवस्थामा ऐनमा केहि असान्दर्भिक बुँदा रहेको भन्दै उक्त बुँदाहरु संसोधन गर्न आईतबार सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।
संघका अध्यक्ष दीपक श्रेष्ठको अगुवाईमा आइतबार नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल, संघिय संसद, शिक्षा तथा स्वास्थ्य समितिकी संयोजक माननिय साँसद जयपुरी घर्ती र सोही समिति अन्तर्गत युवा तथा खेलकुद सम्वन्धमा अध्ययन गर्न गठित उपसमितिका संयोजक माननिय साँसद जीवन राम श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
संघका अध्यक्ष श्रेष्ठद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा हाल संसदमा बिचाराधिन रहेको खेलकुद विकास ऐनको दफा ७ को उपदफा (३) को खण्ड (घ)मा ब्यवस्था भएको ६० बर्ष उमेर भएमा पद रिक्त हुने ब्यवस्थालाई संसोधन गर्नु पर्ने माग गरिएको छ ।
यो ब्यवस्था भएको खण्डमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी, ओलम्यिन, खेलविज्ञ, खेलकुद क्षेत्रका दक्ष र अनुभवी प्राविधिकहरु समेत खेल संघबाट बाहिरिंदा खेल क्षेत्रलाई असर पर्ने हुनाले बुँदालाई हटाउनु पर्ने माग गरिएको हो ।
यसै गरि दफा १८ को उपदफा ६ को सट्टामा राखेपका कर्मचारीहरुलाई एक खेल संघमा मात्र बस्न पाउनु पर्ने ब्यवस्था हुनु पर्ने र प्रशिक्षकको हकमा आफ्नो सम्वन्धित खेल संघमा मात्र बस्न पाउनु पर्ने स्पष्ट ब्यवस्था हुनु पर्ने माग गरिएको छ ।
ऐनको दफा १८ को उपदफा (७) मा भएको परिषद् कर्मचारी र प्रशिक्षक शब्दलाई हटाई खेलाडी भएकै कारण कर्मचारी र प्रशिक्षक हुने भएकाले आफु जुन खेलको खेलाडी हो सोही संघमा रहेर खेलको विकास र विस्तारमा थप योगदान पुर्र्याउने र संघमा प्राविधिक सल्लाहकारको रुपमा समेत कार्य गर्न सक्ने ब्यवस्था हुनु पर्ने तथा दफा ४८ को (३) मा भएको ब्यवस्था हटाउनु पर्ने माग गरिएको छ ।
कारण कुनै पनि ऐन स्विकृत भएपछि सवै धाराहरु एउटै समयमा लागु हुनु हुँदा दफा १ को २ संग बाझिन जाने भएकोले उक्त दफा हटाउन माग गरिएको छ ।