काठमाडौं । साहसिक तथा आध्यात्मिक साइकल यात्राको दोस्रो संस्करण 'ग्रेट बुद्धिष्ट ट्रेल माउन्टेन बाइक' र्याली सुरु भएको छ ।
बुद्धिष्ट सर्किट्स डट कमओ आयोजनामा माउन्टेन बाइक र्याली विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भुनाथ चैत्य परिसरबाट आइतबार सुरु भएको हो ।
र्यालीमा ६८ साइक्लिस्टको सहभागिता रहेको छ । र्याली भगवान गौतम बुद्धको जन्म स्थल लुम्बिनी पुगेर सकिने ग्रेट बुद्धिष्ट ट्रेलका परिकल्पनाकार तथा बुद्धिष्ट सर्किट्स डट कमका संस्थापक बिक्रम पाँडेकाजीले बताए ।
'स्वयम्भु नेवा सभ्यता र कपिलवस्तु शाक्यमुनि सभ्यतालाई साहसिक तथा आध्यात्मिक गतिबिधिको माध्यमबाट जोडी देशलाई एक नयाँ पयर्टन गतिविधि र स्थानियहरुलाई पर्यटनको माध्यमबाट आयआर्जनको नौलो अवसर सिर्जना गर्न र्याली आयोजना गरेका हौँ,' परिकल्पनाकार पाँडेकाजीले भने ।
र्यालीको पहिलो दिन सहभागी साइक्लिस्टहरु स्वयम्भुबाट साइकलबाट कुलेखानी र दामन हुँदै ९० किमिको दुरी पार गरेर हेटौंडामा बास बस्नेछन् । दोस्रो दिन नारायणघाट हुँदै १०२ किमिको दुरी पुरा गरेर कावासोतीमा बास बस्ने छ । तेस्रो दिन देवदह, रामग्राम लगायतका बौद्धस्थल हुँदै लुम्बिनीमा पुगेर र्याली सक्नेछ ।
चौथो दिन सबै साइक्लिस्टहरु प्रतिस्पर्धात्मक साईक्लिङ रेसमा भाग लिनेछन् । साइक्लिङमा पुरुष र महिलाको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । दुवै विधामा प्रथम हुनेले ७७ हजार ७७७, द्वितीयले ५५ हजार ५५५ र तृतीयले ३३ हजार ३३३ नगद मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् ।
र्यालीका संयोजक दिपक राईले यात्राका रुट लामो अनुसन्धान पछी छनोट गरेको बताए । 'यो रुटमा अपहिल, डाउनहिल पर्याप्त मात्रामा छ र रुटमा प्राकृतिक, धार्मिक, बुद्धिष्ट र आध्यात्मिक आकर्षणहरु धेरै संख्यामा रहेका छन्' उनले भने ।
र्यालीको उद्घाटन अन्तराष्ट्रिय बुद्धिष्ट समाजका अध्यक्ष मैत्री भिक्षु र सांसद कृष्णगोपाल श्रेष्ठले गरेका थिए ।