काठमाडौं । राजिब राई र लक्ष्मी मगरले माउन्टेन बाइक राष्ट्रिय च्याम्पियनसिप अन्तर्गत १७ औं क्रस कन्ट्री प्रतियोगिताको उपाधि जितेका छन् । पुरुष इलिटतर्फ राजिब र महिलातर्फ लक्ष्मीले उपाधि जितेका हुन् ।
गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद एवम् शान्ति पार्कमा शनिबार पुरुषतर्फको उपाधि जित्ने क्रममा राजिबले निर्धारित दुरी १ घटना ३१ मिनेट ३२ सेकेण्डमा पुरा गरे ।
उनले प्रताप थापालाई पछि पारे । १ घण्टा ३१ मिनेट ३९ सेकेण्डसहित प्रताप दोस्रो र १ घण्टा ३४ मिनेट ०३ सेकेण्डसहित ओकेश बज्राचार्य तेस्रो भए ।
पुरुषतर्फ २६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष इलिटतर्फ २४ किमिको दुरीलाई ६ ल्याप बनाएर प्रतिस्पर्धा गराईएको थियो ।
महिलातर्फ निर्धारित दूरी १ घण्टा ४५ मिनेट ४९ सेकेण्डमा पुरा गर्दै लक्ष्मीले उपाधि जितिन् ।
सोनी गुरुङले १ घण्टा ५१ मिनेट ५७ सेकेण्डको समयसहित दोस्रो पार्दा हुमा बुढा मगरले २ घण्टा ११ मिनेट २२ सेकेण्डको समयसहित तेस्रो स्थान हासिल गरिन् । महिलातर्फ ९ खेलाडीले सहभागिता जनाएका थिए । महिलाले २० किमिको दुरी ५ ल्यापमा प्रतिस्पर्धा गरेका थिए ।
पुरुष जुनियरतर्फ दिपक जिमीले निर्धारित समय १ घण्टा १९ मिनेट १९ सेकेण्डमा पुरा गर्दै उपाधि जिते । यस्तै १ घण्टा २२ मिनेट २० सेकेण्डको समयसहित सन्तोष गुरुङ दोस्रो र अच्युट कृष्ण खरेल १ घण्टा २५ मिनेट ४० सेकेण्डको समयसहित तेस्रो भए ।
पुरुष मास्टर्समा हर्क लामाले १ घण्टा ७ मिनेट ३५ सेकेण्डको समय निकाल्दै उपाधि जिते । किरण मल्ल १ घण्टा ९ मिनेट १ सेकेण्डसहित दोस्रो र आइत सिंह तामाङ १ घण्टा १४ मिनेट १५ सेकेण्डको समयसहित तेस्रो भए ।
नेपाल साइक्लिङ संघको आयोजनामा भएको प्रतियोगिताको नवौं डाउन हिलतर्फको उपाधि भने सुमन तामाङ र निश्मा श्रेष्ठले शुक्रबार नै जितेका थिए ।
प्रतियोगिताको विजेता खेलाडीहरुलाई पूर्व मन्त्री अम्बिका बस्नेत, गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे र नेपाल साइक्लिङ संघका अध्यक्ष गोपालसुन्दर लाल कक्षपतीले पुरस्कृत गरेका थिए ।
प्रतियोगिताको उद्घाटन भने नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले गरेका थिए ।
तस्विर : सरोज बस्नेत