काठमाडौं । सुमन तामाङ र निश्मा श्रेष्ठले माउन्टेन बाइक राष्ट्रिय च्याम्पियनसिप अन्तर्गत नवौं डाउन हिल प्रतियोगिताको उपाधि जितेका छन् । पुरुषतर्फ सुमन र महिलातर्फ निश्मा च्याम्पियन बनेका हुन् ।
गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद एवम् शान्ति पार्कमा शुक्रबार पुरुषतर्फको उपाधि जित्ने क्रममा सुमनले निर्धारित दुरी १ मिनेट २० सेकेण्डमा पुरा गरे । यस्तै १ मिनेट ३० सेकेण्डको समयसहित कुन्जनी राई दोस्रो र १ मिनेट ४० सेकेण्ड लगाएर निरेन्द्र महर्जन तेस्रो भए ।
महिलातर्फ निर्धारित दूरी १ मिनेट ५५ सेकेण्डमा पार गर्दै निश्मा च्याम्पियन बनिन् । यस्तै २ मिनेट २८ सेकेण्डको समयसहित रोजिशा लिम्बु दोस्रो र २ मिनेट ३६ सेकेण्डको समयसहित आरती श्रेष्ठ तेस्रो भईन् ।
नेपाल साइक्लिङ संघको आयोजनामा भएको प्रतियोगिताको जुनियर पुरुषतर्फको उपाधि निरब श्रेष्ठले जिते । निरबले निर्धारित दुरी १ मिनेट १८ सेकेण्डमा पुरा गरे । यस्तै तेजसन कुँवरले १ मिनेट २२ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थान हासिल गर्दा १ मिनेट २४ सेकेण्डको साथ दिपक जिमी तेस्रो भए ।
च्याम्पियनसिप अन्तर्गत क्रस कन्ट्रीको खेल शनिबार हुनेछ ।
तस्बिर : सरोज बस्नेत