काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यकारी समितिको बैठकले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन चैत २५ गते गर्ने प्रस्ताव अघि सारेको छ ।
पाँच नम्बर प्रदेशका विभिन्न जिल्लामा हुने प्रतियोगिताको मिति तोक्न सोमबार बसेको समितिको बैठकले चैत २५ गते उद्घाटन र ३० गते समापन गर्ने गरी मिति तोक्न राखेप बोर्डलाई सिफारिस गरेको छ । समितिले सिफारिस गरेको नयाँ मितिमा छलफल गर्दै बोर्ड बैठकले आठौंको नयाँ मिति तोक्ने छ ।
राखेप सदस्य सचिव केशवकुमार विष्टको अध्यक्षतामा बसेको बैठकले बोर्डलाई आठौंको नयाँ मिति सिफारिस गरेको हो ।
'बैठकले आठौंको मिति चैत २५ मा उद्घाटन र ३० गते समापन गर्ने गरी मिति तोक्न बोर्डलाई सिफारिस गरेको छ ।’ राखेप सदस्य सचिव विष्टका प्रेस सल्लाहकार रोहित दाहालले खेलपाटीसंग भने ।
राखेपले यसअघि चैत २३ गते उद्घाटन गर्ने तयारी गरेको थियो । तर, भौतिक पुर्वाधार निर्माणको काम नसकिएको कारण राखेपले केहि दिन पछि सार्दै नयाँ मिति बोर्डलाई सिफारिस गरेको हो ।
प्रेस सल्लाहकार दाहालले भीआईपीतर्फको प्याराफिटको निर्माण नसकिएको कारण आठौंको मिति केहि पछि सरेको बताए ।
'भीआईपीतर्फको प्याराफिटको समान भारतको कोलकातामा रोकिएको छ,' प्रेस सल्लाहकार दाहालले भने, 'त्यो समान ढिला हुँदा आठौको मिति टुंगो नलागेको हो । अन्य कुनै भौतिक निर्माणको समस्या छैन् ।'
यस्तै कार्यसमिति बैठकले प्रतियोगिताका खेलहरु भने चैत १९ गतेबाट सुरु गर्नेगरी कार्यतालिका बोर्डलाई सिफारिस गरेको छ । पहिलो दिन महिला फुटबल, बास्केटबल, भलिबल र लनटेनिसका खेलहरु सञ्चालन गर्ने कार्यतालिका पठाईएको छ ।