काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक मिति तोक्न कार्यकारी समितिको बैठक बोलाएको छ । पाँच नम्बर प्रदेशका विभिन्न जिल्ला हुने प्रतियोगिताको मिति तोक्न राखेपले फागुन २७ गते कार्यकारी समितिको बैठक बोलाएको हो ।
भौतिक पुर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको निष्कर्श निकाल्दै राखेपले औपचारिक मिति तोक्ने तयारी गरेको हो ।
‘राखेपले फागुन २७ गते कार्यकारी समितिको बैठक बोलाएको छ । सोही बैठकले प्रतियोगिताको औपचारिक मिति तोक्ने छ ।’ राखेप सदस्य सचिव केशवकुमार विष्टले खेलपाटीसंग भने ।
राखेपले आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन चैत २३ गते गर्ने कार्यतालिका बनाएको छ । कार्यकारी समितिको बैठकले सो कार्यतालिकालाई औपचारिकता दिनेछ ।
प्रतियोगिताका खेलहरु चैत १६ गतेबाट सुरु हुनेछ । पहिलो दिन हक्कीका खेलहरु सञ्चालन गर्ने राखेपको तयारी छ । प्रतियोगिता चैत ३० गते सम्पन्न गर्ने कार्यतालिकामा उल्लेख छ ।
भीआईपीतर्फको प्याराफिटको निर्माण समयमै सम्पन्न नहुदाँ आठौं राष्ट्रिय खेलकुद चैतको अन्तिम साता गर्न लागिएको हो । प्रत्यके दुई बर्षमा आयोजना गर्ने लक्ष्य राखिएको राष्ट्रिय प्रतियोगिता प्रजातन्त्र पुर्नस्थापना पछाडी नियमित हुन सकेको छैन ।
तर २०७५ सालमै आठौं राष्ट्रिय खेलकुद सम्पन्न गरेर प्रतियोगितामा देखिएको समयको अनियमितता तोड्ने राखेपको दाबी छ ।