एजेन्सी । ब्रिटिस नम्बर एक टेनिस खेलाडी एन्डी मर्रेले विम्बल्डन टेनिसमा सहभागिता जनाउन सक्ने सम्भावना बढेको छ ।
पछिल्लो समय चोटबाट गुज्रिरहेका मर्रे चोट मुक्त हुँदै गएपछि विम्बल्डन खेल्न सक्ने सम्भावना बढेको हो ।
हिप इन्जुरीबाट ग्रसित मर्रेले गत जनवरीमा शल्यक्रिया गरेका थिए । इन्जुरीको कारण मर्रेले विम्बल्डन पछि सन्यास लिने समेत बताईसकेका छन् ।
शल्यक्रियापछि आराम गरिरहेका मर्रेले आफ्नो चोट निको हुँदै गएको र टेनिस कोर्टमा फर्कने बताएका छन् ।
'चोटको उपचार बिस्तारै भईरहेको छ तर, राम्रो भईरहेको छ,' मर्रेले भनेका छन्, 'म अब लगातार खेल्न चाहन्छु । मैले अष्ट्रेलियापनि भनेको थियो । तर, सम्भव हुने नहुने मलाई थाहा छैन ।'
गत बर्षको अष्ट्रेलियन ओपनपछि मर्रे टेनिस कोर्टमा देखिएका छैनन् । तर, मर्रेले शल्यक्रियापछि आफ्नो दुखाईको पीडा कम भईसकेको बताउदै खेलमा फर्कन कोशिस गरिरहेको बताए ।
'शल्यक्रिया राम्रो भएको छ । मलाई अहिले ठिक छ । हिड्दा अहिले दुखाई छैन ।,' मर्रेले भने ।
यस्तै मर्रेले आफु टेनिस नखेली रमाउन नसक्ने बताए ।