काठमाडौं । नेपालले आयोजना गर्ने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आगामी डिसेम्बर महिनामा आयोजना हुने भएको छ ।
नेपाल ओलम्पिक कमिटिले मंगलबार पत्रकार सम्मेलन गर्दै १३ औं साग डिसेम्बर १ देखि १० गतेसम्म आयोजना हुने जनाएको छ ।
थाईल्याण्डको बैंककमा बसेको दक्षिण एसियाली ओलम्पिक कमिटिको बैठकले सागको नयाँ मिति तय गरिएको कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले जानकारी गराए ।
सन् २०१९ को मार्चमा आयोजना गर्ने तय भएको प्रतियोगिता पूर्वाधार निर्माणको कारण डिसेम्बरमा सारिएको हो । यसअघि मार्च ९ देखि १८ सम्म आयोजना गर्ने तालिका रहेको थियो । अब भने सागको नसर्ने अध्यक्ष श्रेष्ठले बताए ।
'दशरथ रंगशालाको निर्माण कार्य आधा सकिएको छ । अब पूर्वाधारको कारण साग सर्दैन,' अध्यक्ष श्रेष्ठले भने ।
सागमा २७ खेल समावेश गरिएको छ ।
यस पटकको साग खेलकुद १० दिनमा सकिने छ । अघिल्ला संस्करणको साग १२ दिनको हुने गर्थियो ।
भारतको गुवाहाटीमा सम्पन्न १२ औं सागमा नेपालले १३ औं संकरण आयोजना गर्ने बाचा सहित झण्डा लिएर आएको थियो ।