काठमाडौं । प्रदेश नम्बर पाँचमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चैत २३ गते औपचारिक उद्घाटन हुने भएको छ । आयोजक राष्ट्रिय खेलकुद परिषद् राखेपले फागुन मसान्तभित्र पुर्वाधार निर्माणको काम सम्पन्न गरेर चैत भित्र प्रतियोगिता समापन गर्ने गरि कार्य तालिका बनाएको छ ।
परिषद स्रोतका अनुसार प्रतियोगिताको औपचारिक उद्घाटन चैत २३ गते हुनेछ । राखेपले प्रतियोगिता उद्घाटनका लागि भोली (सोमबार) राष्ट्रपति विद्यादेवी भण्डारीलाई औपचारिक पत्र पठाउने तयारी गरेको छ । प्रतियोगिताको समापन चैत ३० गते गरिनेछ ।
‘चैत २३ गते उद्घाटन गर्ने गरि तालिका बनेको छ । प्रतियोगिताको समापन चैत ३० गते गर्ने गरि तालिका बनेको छ । बोर्ड बैठकले सोही बिषयमा निर्णय गर्नेछ ।’ राखेप स्रोतले भन्यो ।
प्रत्येक दुई बर्षमा आयोजना गर्ने लक्ष्य राखिएको राष्ट्रिय प्रतियोगिता राखेपले निर्धारित समयमै हुने दाबी गर्दै आएको थियो ।
उद्घाटन हुने प्याराफिटको निर्माण सम्पन्न हुन नसक्दा प्रतियोगिताको मिति अनिश्चित बनेको थियो ।
प्रतियोगिताका खेलहरु भने चैत १६ गतेबाटनै सुरु हुनेछ । आउटडोर खेल, टिम खेलहरुलाई औपचारिक उद्घाटन अगाडीबाटै सञ्चालन गरिने राखेपले जनाएको छ ।