काठमाडौं । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले निर्धारित समयमै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न माग गरेको छ । प्रतियोगिताको तयारीमा लागि प्रदेश नम्बर ५ को स्थलगत भ्रमणको निस्किएको संघले यसै बर्ष राष्ट्रिय खेलकुद आयोजना गर्नुपर्ने माग अघि सारेको हो ।
‘पटक पटक मिति सर्दै आएको छ । अब नसार्ने गरि राष्ट्रिय खेलकुदको मिति तोकियोस । आठौं राष्ट्रिय खेलकुद यसै बर्ष आयोजना हुनपर्छ भन्ने हाम्रो औपचारिक माग हो ।’ संघका अध्यक्ष दिपक श्रेष्ठले खेलपाटीसंग भने ।
राष्ट्रिय खेलुकदको तयारीका लागि बाँकेको नेपालगञ्ज पुगेको टोलीले आईतबार पत्रकार सम्मेलन गर्दै प्रत्येक २\२ बर्षमा आयोजना हुने प्रतियोगिता निर्धारित समयमा गर्न माग गरेको थियो ।
निरिक्षण टोलीमा संघका पुर्व अध्यक्ष तथा कीर्तिमानी खेलाडी दिपक विष्ट र जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्य समेत सहभागि छन् ।
टोलीले अहिले बाँकेको नेपालगञ्ज लगायत विभिन्न जिल्लाको खेल मैदानको अवलोकन गरिरहेको छ ।
‘उद्घाटन गर्ने भीआईपी प्याराफिटलाई छाडेर हेर्ने हो भने ९५ प्रतिशत काम सकिएको देखिन्छ । अब मात्र फिनिसिङ गर्न बाँकी छ ।’ श्रेष्ठले खेलपाटीसंग भने, ‘भौतिक पुर्वाधारको हिसावमा यस क्षेत्रमा ईतिहासकै धेरै पुर्वाधार बनेको देखिन्छ ।’
राष्ट्रिय खेलकुद निर्धारित समयमा नुहदाँ खेलाडीमा मानसिक तनाव थपिएको बताउँदै अध्यक्ष श्रेष्ठले विभिन्न बहाना बनाएर प्रतियोगिताको मिति सार्न नहुने बताए ।
‘अन्तराष्ट्रिय स्तरको मापदण्डको पुर्वाधार नभएसम्म खेल गर्न नहुने कुरा आईरहेको छन् । त्यो गलत छ । अहिले सम्म भएको कुन राष्ट्रिय प्रतियोगिता अन्तराष्ट्रिय स्तरको मापदण्डमा भएको छ र ?’ श्रेष्ठले प्रति प्रश्न गरे ।