एजेन्सी । नेपाल क्रिकेट संघ क्यानको निलम्बन फुकुवा प्रक्रियाका बिषयमा अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले कुनै निर्णय गरेन । आईसीसीको केन्द्रिय कार्यालय दुबईमा बसेको ६ दिन लामो बोर्ड बैठक नेपाली क्रिकेटको विवाद समाधानको बिषयमा मौन बसेको छ ।
नेपाली क्रिकेटलाई निकास दिन मंसिरको अन्तिम साता काठमाडौंमा बसेको स्वतन्त्र कमिटिको बैठकले विवाद समाधानको रोडम्याप तयार पारेको थियो । तर निलम्बित कमिटिले अदालतमा दायर गरेको मुद्वा र क्यानको जिल्ला निर्वाचनको बिषयमा सहमती जुट्न नसक्दा क्यानको विवाद समाधान हुन सकेको छैन ।
लामो समय नेपाली क्रिकेट निलम्बित अवस्थामा रहदाँ नेपालको क्रिकेट विवाद समाधानमा आईसीसी आफैले पहलकदमी लिएको थियो । क्रिकेटका सरोकारवाला पक्षलाई समावेश गर्दै आईसीसीले सुरुमा सल्लाहाकार कमिटि गठन गरेको थियो । सल्लाहाकार कमिटिले नेपाली क्रिकेटलाई अघि बढाउन क्यानको नयाँ विधान तयार गरेको थियो ।
तयार पारिएको विधान कार्यान्वयनका लागि आईसीसीले क्यानका दुवै पक्षलाई समावेश गर्दै स्वतन्त्र कमिटि गठन गरेको थियो । तर सो कमिटिले क्रिकेट विवाद समाधानमा उल्लेख्य नतिजा निकाल्न सकेको छैन ।
यस्तै बैठकले टी–ट्वान्टी विश्वकप छनोटका खेलहरु पुरुषको युएई र महिलाको स्कटल्याण्डले आयोजना गर्ने निर्णय गरेको छ ।
आइसीसीले महिला उमेर समुहमा खेल समेत आयोजना गर्ने गरि तयारी अघि बढाएको छ । पुरुषको यु–१९ विश्वकप आयोजना गर्दै आएको आईसीसीले महिलाको उमेर समुहको प्रतियोगिताको बिषयमा भने केही खुलाएको छैन ।
सन् २०२० मा हुने टी–ट्वान्टी विश्वकप भने इंल्याण्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्दैछन् ।
पुरुषतर्फका छनोट खेल यसै बर्ष अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म युएईले आयोजना गर्नेछ । युएईले चौथा पटक छनोट खेलको आयोजना गर्न लागेको हो । यसअघि युएईले सन् २०१०, २०१२, र २०१३ मा छनोट खेलको आयोजना गरेको थियो ।
छनोट खेलमा दुई टेस्ट राष्ट्र सहित १४ टिमको सहभागिता रहने छ । सन् २०१८ को टी–ट्वान्टी बरियतामा टेस्ट राष्ट्रको पुछारमा रहेका दुई राष्ट्र जिम्बाबे र आएरल्याण्ड तथा अघिल्लो टी–ट्वान्टी विश्वकपमा सहभागी ४ एसोसिएट राष्ट्र स्कटल्याण्ड, नेदरल्याण्ड, ओमान र हङकङ सहित क्षेत्रिय छनोटबाट छानिएका ८ राष्ट्रले सहभागीता जनाउने छन् ।
क्षेत्रिय छनोटबाट आउने देशको यसै बर्ष अगष्टभित्र टुङ्गो लाग्नेछ । एसिया क्षेत्रिय छनोटमा नेपाल सहित युएई, सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । सहभागि टोलीबाट बिजेता टोलीले युएईमा हुने टी–ट्वान्टी विश्वकपमा सहभागी जनाउने छ ।
महिलातर्फ भने स्कटल्याण्डले अगस्ट ३१ देखि सेप्टेम्बर ७ सम्म छनोट खेलको आयोजना गर्नेछ । महिला छनोटमा आयोजक सहति ८ राष्ट्रले सहभागिता जनाउनेछन् । विश्व बरियताको पुछारमा रहेका दुई देश बंगलादेश र आयरल्याण्ड सहित एसिया छनोटको विजेता थाइल्याण्ड र क्षेत्रिय छनोटबाट आउने ४ राष्ट्रले सहभागिता जनाउनेछन् ।