काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले एसियाली फुटबल महासंघ एएफसीको कार्यसमिति सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।
एएफसीले आज (शुक्रबार) सार्वजनिक गरेको अन्तिम नामावली अनुसार एन्फा अध्यक्ष शेर्पाले एएफसीको कार्यसमिति सदस्यबाट उम्मेदवारी फिर्ता लिएको देखिएको हो ।
अन्तिम नामावली अनुसार एएफसीको आगामी निर्वाचनमा तीन जनाले प्रतिस्पर्धा गर्नेछन् । वर्तमान अध्यक्ष शेख सलमान विन ईब्राहिम अल खालिफाले उम्मेदवारी दिएका छन् । त्यस्तै कतारका साउद अजिज र युएईका मोहम्मद काफलनले नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष सलमानलाई चुनौती दिनेछन् ।
एएफसीको नयाँ नेतृत्वका लागि अप्रिल ६ मा मलेसियामा निर्वाचन हुदैछ । जसमा एक अध्यक्ष सहित, ६ फिफा काउन्सिल सदस्य, पाँच जना महिला कार्यसमिति सदस्य र नौ जना कार्यसमिति सदस्य चयन हुनेछन् ।
एन्फाबाट अध्यक्ष शेर्पाले एएफसीको कार्यसमिति सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए । अन्तिम समयमा आएर नेपाल र श्रीलंकाले उम्मेदवारी फिर्ता लिएका छन् ।
‘सहमतीमै साफबाट उम्मेदवारी दिने सहमती अनुसार उम्मेदवारी फिर्ता लिएको हो ।’ एन्फाका अध्यक्ष शेर्पाले खेलपाटीसंग भने ।
‘दक्षिण एसियाबाट प्रतिनिधित्व हुने सबै पदमा सहमतीबाटै अघि बढ्ने योजना अनुसार उम्मेदवारी फिर्ता लिएको हुँ ।’ उनले थपे ।
अध्यक्ष शेर्पाका अनुसार कार्यसमिति सदस्य भुटानलाई, काउन्सिल सदस्य ईन्डियालाई र उपाध्यक्षमा पाकिस्तानलाई समर्थन गर्ने सहमती बनेको छ ।
महिलाको कार्यसमिति सदस्यमा सहमती जुट्न सकेको छैन । महिला सदस्यमा माल्दिभ्स र बंगलादेशले उम्मेदवारी दिएका छन् ।
एएफसी कपको फाईनल खेलमा सहभागिता जनाउन युएई जाने क्रममा साफको बैठक समेत बसेको थियो । सोही बैठकमा नेपाल र श्रीलंकाले उम्मेदवारी फिर्ता लिने बिषयमा सहमती बनेको हो ।
‘साउथ एसियामा सहमती जुटाउन उम्मेदवारी फिर्ताको निर्णय गरिएको हो ।’ शेर्पाले भने ।