काठमाडौं । नेपाल विलियर्ड, स्नुकर तथा पुल संघको छैटौं साधारण सभाले स्नुकरका पूर्व राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीलाई ४ वर्षका लागि अध्यक्षमा निर्विरोध चयन गरेको छ ।
शुक्रबार सम्पन्न सभाले चारपटकका राष्ट्रिय च्याम्पियन मुल्मीको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति समेत सर्वसम्मत चयन गर्यो ।
वरिष्ठ उपाध्यक्षमा विन्देश्वर श्रेष्ठ, उपाध्यक्षमा हीराकुमारी दाहाल (मिरा) र ध्रुव तुलाधर, महासचिवमा केशवराज अधिकारी, सचिवमा सञ्जयकुमार मुल्मी, कोषाध्यक्षमा गंगाराम श्रेष्ठ तथा सह–कोषाध्यक्षमा केशर मल्ल रहेका छन् ।
भुपेन्द्रबहादुर थापा (हरि), गजराज खड्का, राजेन्द्र केसी, एलिना महर्जन, मनोज केसी, मनोजकुमार सिंह ठकुरी र तुलसा थापा बस्नेत सदस्यमा चयन भए । सभामा केन्द्र र १६ जिल्लाका ४५ प्रतिनिधि उपस्थित थिए ।
साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा भारतमा भएको स्नुकर प्रतियोगिताका रजतधारी रेगन श्रेष्ठलाई सम्मान गरिएको थियो ।
त्यसै अवसरमा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा भाग लिन शनिबार हङकङ जाने खेलाडी मेलिसा खड्गी र प्रशिक्षक मनोज खड्गीलाई पनि ट्रयाकसुट प्रदान गर्नुका साथै राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाइ गरिएको थियो ।