काठमाडौं । नेपाली फुटबल विकासमा चीनले नेपाललाई सहयोग गर्ने भएको छ ।
नेपाली फुटबल विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र चाईनिज फुटबल संघबीच बिहिबार औपचारिक सम्झौता भएको छ ।
नेपाल भ्रमणमा रहेका चाईनिज फुटबलका कार्यवहाक अध्यक्ष डु जाओ चाइ र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाबीच चार बर्षे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । फुटबल विकासमा सहकार्य गर्न कार्यवहाक अध्यक्ष चाइ सहितको टोली बिहिबार नेपाल आईपुगेको हो ।
एन्फा र चीनले मुख्य तीन बुदामा आधारित रहेर सम्झौता गरेको छ । जसमा राष्ट्रिय टिम, पुर्वाधार र फुटबलको प्राविधिक बिषय रहेको छ ।
सम्झौतासंगै राष्ट्रिय टिमको आदान प्रदान, पुर्वाधार विकासमा सहकार्य, प्राविधिक विकासमा चीनले नेपाललाई सहयाेग गर्नेछ ।
सम्झौतापछि बोल्दै एन्फा अध्यक्ष शेर्पाले यस सहकार्यले नेपाली फुटबल विकासको लागि चीनले प्रवर्दन गर्ने बताए ।
'यस सम्झौताले दुवै देशलाई फाइदा पुग्ने गरि पूर्वाधार विकासमा जोड र राष्ट्रिय टिमको आदानप्रदान जस्ता कार्यहरु हुनेछ,' अध्यक्ष शेर्पाले भने, 'अब मोफसलमा आयोजना हुने प्रतियोगितामा चीनको प्रान्तीय र तेस्रो डिभिजनका क्लबले सहभागिता जनाउने छन् ।'
यस्तै चाईनिज फुटबलका कार्यवहाक अध्यक्ष चाइले महिला र युवा टिमबीच सम्बन्ध बनाउने आधार तयार भएको बताउदै नेपालसंग मिलेर फुटबलमा धेरै काम गर्न सकिने बताए ।
'तिब्बत नजिक छ । हामी तिब्बतसंग जाेडिएर फुटबलमा धेरै काम गर्न सक्छाै,' चाइले भने, 'टिम आदान प्रदानबाट सुरूवात गर्छौं । अरू काममा विस्तारै अघि बढ्छाै ।'