काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले आफ्नो नेतृत्वमा रहेको मोर्डन पेन्टाथलन संघको एकीकरण गरेका छन् ।
संघहरुको विवाद समाधान गर्न युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको विवाद समाधान समस्या सहजीकरण समितिको संयोजक समेत रहेका तिम्सिनाले आफ्नो नेतृत्वमा रहेको संघलाई मोर्डन पेन्टाथलन महासंघ नेपालसंग एकीकरण गरेका हुन् ।
तिम्सिनाको नेतृत्वमा २०७० सालमा राखेपमा मोर्डन पेन्टाथोन संघ गठन भएको थियो । लगत्तै २०७२ सालमा राजेन्द्र श्रेष्ठको नेतृत्वमा मोर्डन पेन्टाथलन फेडेरेशन नेपाल गठन भएको थियो ।
मन्त्रालयमा आईतबार एक कार्यक्रमको आयोजना गरेर राखेप उपाध्यक्षले आफ्नो अध्यक्षतामा रहेको संघलाई श्रेष्ठ नेतृत्वको महासंघसंग एकीकरण गरेको घोषणा गरे ।
विवादका कारण संघको गतिविधि अघि बढ्न नसकेको बताउँदै उपाध्यक्ष तिम्सिनाले एकीकरण प्रक्रियामार्फत संघको विवाद समाधान गरेको बताए ।
एकीकृत भएको मोर्डन पेन्टाथोलन महासंघ नेपालको अध्यक्षमा राजेन्द्र श्रेष्ठ रहेका छन् । वरिष्ठ उपाध्यक्षमा लालचन्द्र रानाभाट र मोहनकुमार डाँगी चयन भएका छन् ।
उपाध्यक्षमा सकुन्तला नगरकोटी, अरुण प्रसाद श्रेष्ठ, भगवती विष्ट, राजु दर्शन, गोपाल न्यौपाने रहेका छन् ।
महासचिवमा यादवबहादुर बस्नेत, उपमहासचिवमा ईन्दिरा निरौला, सचिवमा रामहरि सिलवाल, यदु कुमार बस्नेत र नारायण पौडेल, कोषाध्यक्षमा नारायण पौडेल र सहकोषाध्यक्षमा शैलेन्द्रमान श्रेष्ठ छन् ।
सदस्यमा धावा रुम्बा, किरण गिरी, निषेश चापागाई, रचना लाखेमोरु, मुकुन्द हरि श्रेष्ठ, रितेश श्रेष्ठ, महेश श्रेष्ठ, सुन्दर प्रजापति, राजेश श्रेष्ठ र भिमप्रसाद सुवेदी रहेका छन् ।
राखेप उपाध्यक्ष तिम्सिना नेतृत्वको समितिले यसअघि जिमन्याष्टिक संघको विवाद समाधान गर्दै तदर्थ कमिटि गठन गरेका थियो ।
संघहरुको विवादका कारण महत्वपुर्ण खेलका गतिविधि अघि बढ्न सकेका छैनन् । उस्सु, कराँते र तेक्वान्दो जस्ता खेलको विवाद अझै समाधान हुन सकेको छैन ।