काठमाडौं । चितवनका विक्रम गुरुङ्गले सातौं राष्ट्रिय कायक स्लालोम च्याम्पियनसिपको उपाधि जितेका छन् । नेपाल र्याफ्टिङ्ग एन्ड क्यानोईङ्ग संघको आयोजनामा धादिङ्गको फिस्लिङ्ग त्रिसुली नदीमा बुधबार सुरु भएको प्रतियोगितामा विक्रमले १ किलो मिटरको दूरी ८४ दशमलव ६९ अंकका साथ पहिलो स्थान प्राप्त गरे ।
उनले सिन्धुपाल्चोकका सुर्जन तामाङ्गलाई १ दशमलव २५ अंकले पछाडी पारे ।
सुरजनले ८५ दशमलव ९५ अंक हात पारे । तेश्रो स्थानमा गोर्खाका रमेश गुरुङ्गले ८७ दशमलव २५ अंक प्राप्त गरे ।
सोही प्रतियोगिता अन्तरगत रहेको तेश्रो ¥याफ्टिङ च्याम्पियनसिपमा बुधबारको र्याफ्टिङ हेड टु हेडमा नेपाल कायक एन्ड क्लब फिस्लिङ ‘ए’ २ सय अंकका साथ पहिलो भयो ।
कायक एन्ड क्लब फिस्लिङ ‘ए’ ले कास्कीको प्याडल नेपाल ‘बी’ लाई २४ अंकले पछि पार्यो । प्याडल नेपालले १ सय ७६ र तेस्रो भएको नेपाल कायक एन्ड क्लब फिस्लिङ ‘बी’ ले १ सय ५८ अंक प्राप्त गर्यो ।
त्यस्तै र्याफ्टिङ स्प्रीन्टमा पनि हेड टु हेडकै शीर्ष तीनले सोही नतिजा दोहोर्याए । एक किलोमिटरको दूरीमा नेपाल कायक एन्ड क्लब फिस्लिङ ‘ए’ ले १ मिनेट ५६ सेकेन्ड, प्याडल नेपाल ‘बी’ ले १ मिनेट ५७ सेकेन्ड र नेपाल कायक एन्ड क्लब फिस्लिङ ‘बी’ ले १ मिनेट ५९ सेकेन्डका साथ शीर्ष तीनमा रहे ।
चार विधा स्प्रीन्ट, हेड टु हेड, स्लालोम र डाउन रिभर हुने संघका अध्यक्ष मानबहादुर न्यौपानेले जानकारी दिए । चार विधाबाट प्राप्त अंकका आधारमा ओभरल टिम च्याम्पियन घोषणा गरिने न्यौपानेले बताएका छन् ।
बिहीबार तथा अन्तिम दिन र्याफ्टिङ विधातर्फ स्लालोम र डाउन रिभर रेसका खेल हुने प्रतियोगिताका निर्णायक सुदीप गौतमले जानकारी दिए । र्याफ्टिङ र कायकको विधामा पहिलो हुने टिमलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर दिने संघका अध्यक्ष न्यौपानेले जानकारी दिए ।