आँसुमा टुंगिएको विश्वकपको सपना

काठमाडौं । पोर्चुगलका महान फुटबलर क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः आँसुका साथ समाप्त भएको छ।
स्पेनसँग अन्तिम १६ को खेलमा १–० को पराजय बेहोरेपछि पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको हो।
अमेरिकाको डलासमा सम्पन्न प्रतिस्पर्धात्मक खेलको इन्जुरी समयमा मिकेल मेरिनोले गरेको निर्णायक गोलले स्पेनलाई क्वार्टरफाइनलमा पुर्यायो भने पोर्चुगलको विश्वकप जित्ने सपना चकनाचुर बन्यो। खेल सकिएलगत्तै ४१ वर्षीय रोनाल्डो भावुक बनेका थिए।
पाँच पटकका बालोन डीुओर विजेता, पाँच पटकका च्याम्पियन्स लिग विजेता तथा सन् २०१६ को युरोपियन च्याम्पियन रोनाल्डोले क्लब र राष्ट्रिय टोलीबाट हालसम्म विश्व कीर्तिमानी ९७६ गोल गरेका छन्। उनी लगातार ६ वटा विश्वकपमा गोल गर्ने एकमात्र खेलाडी पनि हुन्। तर विश्व फुटबलको सबैभन्दा ठूलो उपाधि जित्ने सपना भने पूरा हुन सकेन।
रोनाल्डोले यसअघि नै यो आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका थिए। खेलपछि राष्ट्रिय टोलीबाट भविष्यबारे सोधिएको प्रश्नमा उनले, “पहिले परिवारसँग भेट्छु र शान्त मनले निर्णय लिन्छु” भन्ने प्रतिक्रिया दिएका छन्।
यस विश्वकपमा रोनाल्डोलाई हरेक खेलमा सुरुआती रोजाइमा राख्ने निर्णय पोर्चुगलका लागि सही थियो वा थिएन भन्ने विषयमा बहस जारी छ।
पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले भने प्रतियोगितापछि पदबाट अलग हुने घोषणा गर्दै रोनाल्डोको खुलेर प्रशंसा गरे।
उनले भने, “विश्वकप जित्ने उनको सपना थियो र त्यसका लागि उनले अन्तिमसम्म उदाहरणीय समर्पण देखाए। उनले टोलीका लागि सक्दो योगदान गर्ने प्रयास गरे। रोनाल्डो केवल महान् फुटबलर मात्र होइनन्, उत्कृष्ट व्यक्तित्व पनि हुन्।”
सन् २००६ को विश्वकपमा सेमिफाइनलसम्म पुग्नु नै रोनाल्डोको विश्वकप करियरको उत्कृष्ट उपलब्धि रह्यो। करिब दुई दशक लामो विश्वकप यात्रामा उनले अनेक कीर्तिमान बनाए पनि विश्व च्याम्पियन बन्ने उनको बहुप्रतीक्षित सपना भने अधुरै रह्यो।













