कहाँ बन्दैछन् ६ क्रिकेट र ६ फुटबल रंगशाला ?

काठमाडौं। सरकारले आर्थिक वर्ष २०८३/८४ मा खेल पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै देशभरका क्रिकेट तथा फुटबल रंगशाला निर्माण र स्तरोन्नतिका लागि करोडौं रुपैयाँ बजेट विनियोजन गरेको छ।
पूर्वाधार विकास मन्त्रालयद्वारा प्रकाशित वार्षिक विकास कार्यक्रम (रेड बुक २०८३) अनुसार झापादेखि कैलालीसम्म विभिन्न जिल्लामा रंगशाला, क्रिकेट मैदान र बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि बजेट छुट्याइएको हो।
सरकारले क्रिकेट पूर्वाधार विस्तारका लागि ६ वटा क्रिकेट रंगशाला निर्माण तथा विकास योजनामा बजेट विनियोजन गरेको छ। मोरङको बैजनाथपुर क्रिकेट रंगशाला, धनुषाको रामजानकी क्रिकेट रंगशाला, काठमाडौंको माथिल्लो मूलपानी क्रिकेट रंगशाला, कास्कीको पोखरा क्रिकेट रंगशाला, बाँकेको कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र सुर्खेत क्रिकेट रंगशालाका लागि समान ३–३ करोड रुपैयाँ छुट्याइएको छ। यी आयोजनामा मात्र १८ करोड रुपैयाँ विनियोजन गरिएको छ।
त्यसैगरी फुटबल तथा मुख्य रंगशाला स्तरोन्नतिका लागि पनि ६ वटा आयोजना समेटिएका छन्। झापाको दमकस्थित आदिवासी जनजाति नयाँ रंगशाला, विराटनगरको सहिद रंगशाला, दशरथ रंगशाला, पोखरा रंगशालाको फुटबल मैदान, कोहलपुर फुटबल रंगशाला (बाह्रबिघा) र सुर्खेत रंगशालाको मैदान स्तरोन्नतिका लागि बजेट छुट्याइएको छ। यी आयोजनामा पनि १८ करोड रुपैयाँ विनियोजन भएको छ।
यसबाहेक कास्कीको पोखरा रंगशाला, सुर्खेतस्थित कर्णाली प्रदेश रंगशाला र कैलालीको फाप्ला खेल ग्राममा नयाँ बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि बजेट व्यवस्था गरिएको छ। यी तीन आयोजनाको कुल बजेट ९ करोड रुपैयाँ रहेको छ।







.jpg-1783310383831.jpeg&w=3840&q=75)








