कार्लले विश्वकप गुमाउने

काठमाडौं। विश्वकप सुरु हुनुअघि चार पटकको विश्वच्याम्पियन जर्मनीलाई ठूलो धक्का लागेको छ। टोलीका प्रतिभाशाली फरवार्ड लेनार्ट कार्ल तीघ्राको चोटका कारण आगामी विश्वकपबाट बाहिरिएका छन्।
१८ वर्षीय कार्ल यस सिजन बुन्डेसलिगाका उत्कृष्ट प्रदर्शनकर्तामध्ये एक मानिन्छन्। उनलाई विश्वकपका सम्भावित उत्कृष्ट युवा खेलाडीहरूमध्ये पनि गनिन्थ्यो। तर, सह–आयोजक अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलअघि जर्मनीको अन्तिम प्रशिक्षण सत्रका क्रममा उनी घाइते भएका हुन्।
बायर्न म्युनिखका लागि खेल्ने कार्लले गत मे ३१ मा फिनल्यान्डविरुद्ध जर्मनीको ४–० को मैत्रीपूर्ण जितमा सुरुदेखि खेलेका थिए। उक्त खेलमा उनले एक गोलका लागि पाससमेत उपलब्ध गराएका थिए। उनको स्थानमा आरबी लाइपजिगका युवा मिडफिल्डर आसान ओएद्राओगो विश्वकप टोलीमा समावेश भएका छन्।
जर्मनीका मुख्य प्रशिक्षक युलियन नागेल्समानले कार्लको अनुपस्थितिप्रति दुःख व्यक्त गर्दै भने,‘लेनीका लागि म निकै दुःखी छु। उनको लागि मात्र होइन, हाम्रो सम्पूर्ण टोलीका लागि पनि विश्वकप गुमाउनु ठूलो झट्का हो। तर, उनी अझै धेरै युवा छन् र भविष्यमा ठूला प्रतियोगिताहरू खेल्ने प्रशस्त अवसर पाउनेछन्। हामी उनलाई टोलीमा राख्न चाहन्थ्यौं।’
कार्लको चोटका कारण ओएद्राओगोले विश्वकप खेल्ने अवसर पाएका छन्। अमेरिकाविरुद्धको खेल जर्मनीको विश्वकपअघि अन्तिम तयारी खेल हुनेछ। त्यसपछि जर्मनीले जुन १४ मा समूह ‘ई’ अन्तर्गत कुरासाओविरुद्ध खेल्दै आफ्नो विश्वकप यात्रा सुरु गर्नेछ।
समूह चरणमा उसले जुन २० मा आइभरी कोस्ट र जुन २५ मा इक्वेडरविरुद्ध पनि प्रतिस्पर्धा गर्नेछ।











-1787661904658.jpeg&w=3840&q=75)
