विश्वकपमा भुभुजेला प्रतिबन्धित

काठमाडौं। अब मात्र ६ दिन बाँकी छ। जुन ११ को मध्यरातमा मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेलसँगै फिफा विश्वकपको २३औँ संस्करण सुरु हुँदैछ।
प्रतियोगितालाई लक्षित गर्दै विश्व फुटबलको सर्वोच्च नियामक संस्था फिफाले मैदानमा खेल हेर्न जाने दर्शकहरूका लागि केही नयाँ निर्देशिका जारी गरेको छ। फिफाको निर्देशिकाअनुसार यसपटक विश्वकपका स्टेडियमहरूमा भुभुजेला लैजान प्रतिबन्ध लगाइएको छ।
प्लास्टिकबाट बनेको भुभुजेला एक प्रकारको सिंगा हो, जसबाट निकै ठूलो आवाज निकाल्न सकिन्छ। धेरैले यसलाई सन् २०१० को दक्षिण अफ्रिका विश्वकपको प्रतीकका रूपमा सम्झन्छन्। त्यसबेला हजारौँ भुभुजेलाबाट निस्किएको निरन्तर आवाजले प्रतियोगिताको वातावरणलाई विशेष र स्मरणीय बनाएको थियो।
तर, यस संस्करणमा भुभुजेला स्टेडियमभित्र लैजान पाइने छैन। साथै, सिठ्ठी, एयर हर्न तथा अन्य उच्च आवाज निकाल्ने उपकरणहरू पनि प्रतिबन्धित सूचीमा राखिएका छन्। १२ सेन्टिमिटरभन्दा ठूलो कुनै पनि बाजागाजा वा वाद्ययन्त्र स्टेडियममा लैजान आयोजकको पूर्वस्वीकृति आवश्यक पर्नेछ। ड्रोन र पुनःप्रयोग गर्न मिल्ने पानीका बोतलहरू पनि निषेधित सामग्रीको सूचीमा समावेश छन्।
फिफाको टिकटसम्बन्धी निर्देशिकामा निषेधित सामग्रीहरूको पूर्ण सूचीका लागि दर्शकहरूलाई स्टेडियम आचारसंहिता अध्ययन गर्न आग्रह गरिएको छ। कुनै वस्तु स्टेडियमभित्र लैजान मिल्ने वा नमिल्ने भन्ने अन्तिम निर्णय स्टेडियम प्रशासन र सम्बन्धित सरकारी निकायले गर्नेछन्।
फिफाका कानुनी दस्तावेजहरूमा २०२६ विश्वकपका सबै टिकटधारकहरूले स्टेडियम आचारसंहिता अनिवार्य रूपमा पालना गर्नुपर्ने उल्लेख गरिएको छ। नियम उल्लङ्घन गर्ने व्यक्तिलाई प्रवेश निषेध गर्न सकिने वा खेलस्थलबाट बाहिर निकाल्न सकिने चेतावनी पनि दिइएको छ।











-1787661904658.jpeg&w=3840&q=75)
