विश्वकप खेल्न अस्ट्रेलियाको हात समाएका भोल्पाटो

काठमाडौं। एक खेलाडीका लागि आफ्नो करिअरमा विश्वकपको कति महत्त्व हुन्छ ? यो प्रश्न इटालीको यू–२१ टोलीका फरवार्ड क्रिस्टियन भोल्पाटोलाई सोध्ने हो भने उनले पक्कै भन्नेछन्,‘मलाई नै हेर्नुस् न।’
उनले यसो भन्नुमा पनि एक महत्त्वपूर्ण कारण छ। त्यो हो उनले विश्वकपअघि आफ्नो अन्तर्राष्ट्रिय फुटबल भविष्य अब अस्ट्रेलियासँग जोड्ने निर्णय गरेका छन्।
२०२२ विश्वकपअघि अस्ट्रेलियाको प्रस्ताव अस्वीकार गरेका भोल्पाटो अहिले भने सोक्केरुज टोलीमा सामेल हुने तयारीमा छन्। अस्ट्रेलिया फुटबल महासंघले शुक्रबार सिड्नीमा जन्मिएका २२ वर्षीय भोल्पाटोलाई लस एन्जलसमा जारी राष्ट्रिय टोलीको प्रशिक्षण शिविरमा समावेश गरिएको जनाएको छ। अस्ट्रेलियाले सोमबारसम्म अन्तिम विश्वकप टोली घोषणा गर्नेछ।
हाल इटालीको क्लब सासुओलोबाट खेलिरहेका भोल्पाटोले इटालीको सिनियर टोलीबाट कुनै प्रतिस्पर्धात्मक खेल नखेलेकाले फिफाको नियमअनुसार राष्ट्रिय टोली परिवर्तन गर्न पाउनेछन्।
अस्ट्रेलिया फुटबल महासंघले इटालियन फुटबल महासंघबाट ‘रिलिज लेटर’ प्राप्त गरिसकेको जनाएको छ। फिफाले राष्ट्रियता परिवर्तनको स्वीकृति दिन यो महत्त्वपूर्ण प्रक्रिया मानिन्छ।
अस्ट्रेलियाले जुन १३ मा भ्यानकुभरमा टर्कीविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। त्यसपछि जुन १९ मा सिएटलमा अमेरिकासँग खेल्नेछ भने समूह ‘डी’ अन्तर्गत अन्तिम खेल जुन २५ मा सान फ्रान्सिस्कोमा पाराग्वेविरुद्ध हुनेछ।
समूहका शीर्ष दुई टोली अन्तिम ३२ मा पुग्नेछन् भने तेस्रो स्थानको टोलीले पनि अर्को चरणमा स्थान बनाउन सक्नेछ। भोल्पाटोले २०२२ विश्वकपअघि अस्ट्रेलियाबाट खेल्ने अवसर अस्वीकार गरेका थिए। त्यतिबेला उनी पोर्चुगिज प्रशिक्षक जोजे मोरिन्होको प्रशिक्षणमा इटालियन क्लब रोमाबाट खेलिरहेका थिए।
उता, इटाली भने लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको छ।











-1787661904658.jpeg&w=3840&q=75)

